भूकम्प प्रभावित कृषकले दुई वर्ष मालपोत तिर्न नपर्ने

काठमाण्डौं, जेठ २३ । सरकारले भूकम्प प्रभावित जिल्लाका किसानलाई दुई वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ का लागि मालमोत छुट (मिनाहा) दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिए ।
यस्तै भूकम्पपीडितको परिचयपत्र वितरणमा प्रभावकारिताका लागि सरकारले सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई पनि वितरण कार्यमा जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयले तयार गरेको दैवी प्रकोपका समयमा महसुल छुटसम्बन्धी कार्यविधि पारित गरेको छ ।
मुलुकभित्रको जस्तापाताले मात्र माग धान्न नसक्ने भएकाले आपूर्तिमा ५० प्रतिशत राजस्व छुट दिने र खरिद कार्यका लागि साल्ट ट्रेडिङ र नेसनल ट्रेडिङलाई जिम्मा दिन प्रधानमन्त्री सुशील कोइरालाले वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापालाई निर्देशन दिएका छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment