संविधानसभामा बहुमतीय प्रक्रिया रोकियो, संवाद समिति सक्रिय



काठमाडौं, जेठ २७ । संविधासनभामा शुरु भएको संविधान निर्माणको बहुमतीय प्रक्रिया रोकिएको छ । चार प्रमुख राजनीतिक शक्तिबीच संविधानका अन्तरवस्तुमा सहमति भएपछि अब पुन: संवाद समितिमार्फत अघि बढ्ने भएको हो ।

संविधानसभाको मंगलवारको बैठकले यसअघि अघि बढेको बहुमतीय प्रक्रियालाई रोकेर संवाद समितिमा यसअघि टु·िन बाँकी विषयमा सहमति गर्न भन्दै पुन: समितिमा पठाउने निर्णय गरेको हो ।
संविधानसभाको निर्णय लगत्तै संवाद समितिका सभापति बाबुराम भट्टराईले समितिको बैठक आह्वान गर्नुभएको छ ।

दलहरुको सहमतिलाई समितिले अनुमोदन गरेपछि सोही अनुसारको प्रतिवेदन संविधानसभामा पठाइनेछ । संविधानसभाले संवाद समितिको प्रतिवेदन कम्तिमा दुई तिहाई बहुमतले पारित गर्ने निश्चित भएकाले त्यसपछि लगत्तै प्रारम्भिक मस्यौदाका लागि संविधान मस्यौदा समितिमा जानेछ । यो काम सम्भवत: बुधवारै हुनेछ ।

यसैबीच, प्रमुख दलहरुले संविधान निर्माणको गाँठो फुकाएपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अब द्रुतमार्ग निर्माणमा जुट्नुभएको छ । यसैक्रममा नेम्वाङले मंगलबार बिहानै प्रधानमन्त्री सुशील कोइरालालाई भेट्नुभएको थियो ।  दलहरुको सहमतिसँगै अब सभाध्यक्ष नेम्वाङ, सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराई र मस्यौदा समितिका सभापति कृष्ण सिटौलाको जिम्मेवारी एवं धपेडी बढ्ने भएको छ ।

फास्ट ट्रयाक अर्थात द्रुत मार्गबाट संविधान जारी गर्नका लागि नेम्वाङ यसअघि नै तयारी हालतमा हुनुहुन्थ्यो । दलहरुले सहमति गर्नासाथ अब उहाँको कामले गति लिने देखिएको छ । नेम्वाङ मंगलवार बिहानै प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न उहाँकै निवास बालुवाटारमा पुग्नुभयो । उहाँले संविधान निर्माणको छोटो बाटोका बारेमा कोइरालालाई जानकारी गराउँदै सरकारले गर्नुपर्ने आवश्यक विधेयक लगायतका काम फटाफट हुनुपर्ने बताउनुभएको थियो ।

नेम्वाङले अब छोटो बाटोबाट संविधान बनाउनका लागि दलहरुसँग छलफल गरेर नयाँ कार्यतालिका बनाउँनुहुनेछ । नेम्वाङले मंगलबारको बैठकमा सहमति सहितको प्रतिवेदन पेश गर्ने जिम्मा बाबुराम भट्टराई नेतृत्वको संवाद समितिलाई दिनुभएको थियो । संवाद समितिमा छोटो छलफलपछि दलहरुको सहमतिकै आधारमा संवाद समितिले प्रतिवेदन संविधानसभामा पेश गर्नेछ ।

त्यसपछि संविधानसभाले उक्त प्रतिवेदनलाई मस्यौदाका लागि कृष्ण सिटौला नेतृत्वको मस्यौदा समितिमा पठाउनेछ । आफ्नो समितिले बढीमा १५ दिनभित्र संविधानको प्रारम्भिक मस्यौदा तयार पार्ने समितिका सभापति सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब संविधान बन्छ, यति नै समय भन्न सकिन्न, तर धेरै समय लिँदैन ।’ मस्यौदा समितिले पहिलो मस्यौदा बनाएपछि छोटो समयमा जनताको प्रतिक्रियाका लागि पठाउने कि नपठाउने टुंगो छैन ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment