भूकम्प पीडितलाई बागलुङ सेवा समाज अमेरिकाको सहयोग

रबिना बोहरा, 
बागलुङ, जेठ २९ । बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट प्रभावित बनेका बागलुङ जिल्लाका पिडितहरुलाई बागलुङ सेवा समाज अमेरीकाले २० लाख बराबरको जस्ता पाता र राहत हस्तान्तरण गरेको छ । समाजले बिहिबार राहत हस्तान्तरण कार्यक्रमको आयोजना गरीप्रति मृतक परिवार २० हजारका दरले राहत वितरण गरेको हो । 

समाजले बागलुङ र पर्वत जिल्लाका ६ जना परिवारलाई राहत दिएको छ भने अन्य बाँकी परिवारलाई २० हजारका दरले पछि दिने जनाएको छ । भुकम्पबाट ज्यान गुमाएकाहरुका आफन्तहरु अमलाचौरका सावित्री शर्मा, हटियाका शान्ति खड्का, तित्याङका राजन बोसेल, हरिचौरका धनकुमारी अधिकारी, भकूण्डेका कर्णबहादुर थापा, पर्वतका एकल महिला पद्मकुमारी क्षेत्री र इन्द्रा उपाध्यायलाई जनही २० हजारका दरले राहत रकम हस्तान्तरण गरिएको हो । 

समाजका सल्लाहकार गौरीश्वर शर्माले प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललाई जस्तापाता हस्तान्तरण गर्दै सर्वप्रथम अति विपन्न, आय स्रोत कम भएका र एकल महिलालाई केन्द्रीत गरी जस्ता पाता वितरण गर्न आग्रह गर्नुभयो । उहाँले जिल्लामा बढी क्षति भएका विद्यालयलाई पनि जस्ता पाता हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जिल्लामा भुकम्पले क्षति बनाएका घर परिवारका लागी राजनीतिक दल, गाविस सचिव एवं जिल्लाका संघ संस्थाले महत्वपुर्ण सहयोग गरेको बताउनुभयो । पहिलो चरणको राहत सरकारले वितरण गरेको भन्दै उहाँले दोस्रो चरणको राहत विभिन्न संघ संस्थाहरुबाट पनि प्राप्त भएको बताउनुभयो । पौडेलले बागलुङ सेवा समाजले दिएको जस्ता पातालाई सरकारको मापदण्डमा नपर्ने पिडितलाई सहयोग गर्ने भन्दै बास्तविक पिडितले राहत पाउनुपर्ने बताउनुभयो ।बास्तविक भुकम्प पिडितहरुका लागी सरकारबाट पनि जस्ता पाता प्रदान गर्नका लागि २ करोडको माग गरिरहेको भन्दै जिल्लामा अब भुकम्प पिडितहरुलाई परिचय–पत्र वितरण कार्य अगाडी बढाउने बताउनुभयो । 

पुन: निर्माणको चरणमा ‘क’ र ‘ख’ वर्गका भुकम्प पिडित छुट्टाएर अस्थाई छाप्रो निर्माणका लागि ‘क’ वर्गका पिडितलाई १५ हजारका दरले राहत दिने पौडेलको भनाई थियो । बागलुङ जिल्लामा ९ सयदेखि एक हजार परिवारले ‘क’ वर्गको परिचयपत्र पाउने र घर चर्केका परिवारलाई ‘ख’ वर्गको परिचयपत्र वितरण गरिने भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका कार्यबाहक सभापति जगदिशचन्द्र उपाध्याय, नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, नेकपा– माओवादीका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढा सागर, राप्रपाका सह–अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, स्थानीय विकास अधिकारी भरत गौतम, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सर्वसिद्धि धाम पञ्चकोटका महासचिव जगन्नाथ आचार्य लगायतले बोल्नुभएको थियो । 

कार्यक्रम बागलुङ सेवा समाज अमेरिकाका सल्लाहकार गौरीश्वर शर्माको अध्यक्षता, खगराज गौतमको स्वागत मन्तव्य र नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष दिलिप पोडेलको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा बागलुङको भान्सामा निर्माण हुन लागेको विश्वशान्ति कलस निर्माणका लागि सेवा समाजले सर्वसिद्धि धाम पञ्चकोटका महासचिव जगन्नाथ आचार्यलाई २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको थियो । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment