नाम मात्रको अनुगमन (सम्पादकीय)

  • साना बालबालिकालाई पढाउने एउटा कविता छ ‘कुखुरी काँ, बासी भात खाँ, खै बासी भात, बिरालाले खायो....... खै खोलो सुकी गयो ’ यस्तै भएको यतिबेला नेपालको विकास निर्माण काम । आर्थिक वर्ष सकिनै लाग्दा ठूलो रकम खर्च गर्नुपर्ने अवस्थामा रहेको नेपालको आर्थिक प्रशासनकै कारण माथि भनिएको कविताजस्तै योजनाहरु निर्माण तथा मर्मत भएर भत्कने गरेका छन् । योजना निर्माणको कार्यान्वयन इकाइमा बसेका कर्मचारीहरुले समयमै योजनाको अनुगमन नगर्दा यस्ता थुप्रै योजनाहरु भल बाढीमा बग्ने गरेका छन् । यही परिपाटीका कारण योजनालाई कमाऊ धन्दाको रुपमा लिनेहरुले काम नगरी ‘काम गरेको हो, बाढीले बगायो’ भनेर उम्कने पाउने गरेका उदाहरणहरु थुप्रै देख्न सकिन्छ ।
  • बागलुङको सन्दर्भलाई जोड्ने हो भने विकास निर्माणमा ठूलो आर्थिक लगानी गर्दै आइरहेको जिल्ला विकास समितिले योजनाहरुको अनुगमननै नगरी बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदापनि एक वर्षमा भए गरेका कामहरुको अनुगमन नभएको सरोकारवालाले बताउँदै आएका छन् । यसवर्ष अनुगमनका नाममा कर्मचारीहरुले दिन फाल्नेमात्र काम गरिरहेका छन् । यसरी अनुगमनलाई प्रभावकारी नबनाउँदा योजनामा अनियमितता हुंदैन भनेर कसैले शंका गर्दैन, विकास निर्माणका कामहरु गर्नुपुर्व योजनाहरुको सर्वेक्षण, काम कारवाही र अनुगमनको पाटोलाई पनि महत्वका साथ लिने गरिएको छ । तर बागलुङमा यस्तो देखिदैन, अनुगमन बिनानै रकम विनियोजन गर्ने परिपाटीकै कारण जिल्लामा विनियोजन हुने ठूलो रकम कहाँ कसरी खर्च भएको छ भनेर खोज्ने अवस्था समेत छैन । 
  • जिल्लाका केही सरकारी तथा गैह्रसरकारी कार्यालयहरुबाट अनुगमन गरिएका खवरहरु सार्वजनिक हुने गरेका छन् । तर ति अनुगमन केवल औपचारिकताका लागि मात्र हुने गरेका छन् । सडकको अनुगमन सडकमै गएर गर्नुपर्छ, खानेपानीको अनुगमन मुहानदेखि धारोसम्म पुगेर गर्नुपर्छ, बन जंगलको अनुगमन बन जंगलमै गएर गर्नुपर्छ केवर उपभोक्ताहरुलाई जम्मा पारेर अनुगमन पुस्तिकामा हस्ताक्षर गर्दैमा अनुगमन हुन्छ भन्ने लाग्दैन । अनुगमन गर्ने हो भने उपभोक्ताहरु पनि जागरुक हुन सक्छन् । अनुगमन बिना योजनाहरु स्वीकृती गरिदिदा अनियमितता गर्नेतर्फ सोच बढ्दै गइको पाइन्छ । आर्थिक वर्ष सकिनै लाग्दा बजेट आउँने, केही देखाउटी काम गरेर कागजमा काम सम्पन्न गरेको देखाउँन सबै क्षेत्रका माहिर छन् त्यस्तो परम्पराको अन्त्यका लागि अनुगमन प्रभावकारी बनाउने हो भने अनियमितता गर्नेले आगामी दिनमा अनियमितता गर्न सक्दैन । त्यसैले विकास निर्माण र जिल्लाको विकासका लागि प्रभावकारी अनुगमनको आवश्यता छ । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment