ताप्लेजुङका विभिन्न गाउँमा वर्षासँगै पहिरो

ताप्लेजुङ, जेठ २८ । बुधवार साँझदेखि परेको अविरल वर्षासँगै ताप्लेजुङको पश्चिमी क्षेत्रका विभिन्न गाउँ विकास समितिमा गएको पहिरोमा परेर ज्यान गुमाएका मध्ये १२ जनाको शव फेला परेको छ । आठ जना गम्भीर घाइते भएका छन् । अन्य सयौं बेपत्ता भएका छन् ।

थिङलावु गाविसको याङपेलीमा पाँच जनाको शव देखिएको छ । स्थानीय नरेन ओख्राबुका अनुसार थिङलावु ६ याक्पेलीमा पाँच जनाको शव देखिएपनि कसको हो भन्ने पुष्टी भएको छैन । पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डांडामा रहेका दुई दर्जन बढी घर बगाएकोले सयौं बेपत्ता भएका छन् ।

पहिरोले घर बगाउदा खोक्लिङ ७ धुसेनीमा दुई जनाको ज्यान गएको छ । खोक्लिङ ७ का राजकुमार मादेनको घर माथिवाट आएको पहिरोले वगाउदा वर्ष ११ का सविन मादेन र सोही गाविसका ८ कै वर्षका वसन्त विकको मृत्यु भएको प्रहरीले वताएको छ । घाइते भएका दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको मृतक मादेनका काका बिष्णु मादेनले जानकारी दिनुभयो ।

यता लिङतेप गाविसमा पनि एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आईतवहादुर लिम्बूकी छोरी चमेली रहेकी छन् । घर बगाएपनि चमेलीको शव फेला परेको छ भने उनका बाबु सम्पर्क बिहीन छन् ।

यसैबीच सान्थाक्रा गाविसमा पनि पहिरोमा परी दुई जनाको मृत्यू भएको छ । सान्थाक्रा ३ को लाक्चुङका अमर बहादुर लिवाङ र उनका नातीको मृत्यू भएको स्थानिय तेजकुमार चोङबाङले जानकारी दिनुभयो । पहिरोले लिवाङ गाविसका देबेन्द्र लिवाङको मृत्यु भएको त्रिभुवन उच्च माविका प्रधानाध्यापक ईश्वरीप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यहां मानिसका दुईवटा खुट्टा समेत भेटिएकोले थप हताहती भएको हुन सक्ने उहांले बताउनुभयो ।

यस्तै लिङतेप तीनकी सन्जय लिम्बुकी श्रीमती मनमाया लिम्बुको पनि पहिरोमा पनि मृत्यू भएको छ । उनको पहिरोआउदा भाग्ने क्रममा मृत्यू भएको प्रहरीले बताएको छ । यस्तै पहिरोमा परी लिङतेप, खोक्लिङ, लिवाङ र थिङलावु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयका अनुसार लिङतेपमा ७, खोक्लिङमा ९, लिवाङमा ६ र थिङलाबु गाविसमा ६ घर बगाएको छ ।

ईलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरिक्षक देवीप्रसाद फागोका अनुसार मेवाखोला बढेर आउदा खाम्लुङ गाविसको दोभान बजारको पल्लो भागका पवन लिम्बू, श्याम लिम्बू र दावा शेर्पाको घर बगाएको छ । पानी परिरहेको र खोल्सा तथा खोला बढेका कारण कति हताहती भए र घर बगाउदा मान्छे समेत बगे या अरु केहि हो भन्ने बारेमा जानकारी लिने काम भई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी शान्तिराज कोईरालाले भन्नुभयो । 

गाउँमा रहेका प्रहरी युनिट उद्धारका लागि खटिए पनि पहिरो गएको स्थानमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ । तमोर तथा मेवाखोला आसपासको सबैभन्दा ठूलो दोभान बजार जोखिममा रहेको र त्यहां ३ वटा घर बगाएका कारण दोभान बजारका स्थानीय घर छाडेर भागेका छन् ।

उता ७ घर रहेको लिङतेपको रामदुवाली बजारका ईन्द्र नाल्वो, बसन्त सामेखाम, दलबहादुर नाल्वो, भवानसिंह नाल्वो,राजकुमार सामेखाम र डांडापारी साईला भनिनको घर बगाएको छ । स्थानीय आशिष केदेमका अनुसार लिङतेप वार्ड नं ६ का आईतबहादुर केदेमको एउटै परिवारका ६ जना सख्त घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि ल्याउन कठिनाई भएकोले ज्यान जोखिममा परेको उहांले जानकारी दिनुभयो । घरमा रहेका सबै सम्पर्क बाहिर रहेका छन् । घाईते र पीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर आउने तयारी भईरहेको छ ।
साभार: अनलाइनखवरडटकम
तस्वीर:- सोनु रोका, अनिल श्रेष्ठ
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment