दुदिलाभाटी पूर्ण खोपयुक्त गाविस घोषणा

बागलुङ, असार १४ । बागलुङको दुदिलाभाटी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । दुदिलाभाटी गाविसमा रहेका १२ देखि २३ महिना उमेर समूहका १ सय १७ जना बालबालिकाले एक वर्षमा लगाउनुपर्ने सबै खोपको मात्रा पूरा गरेपछि गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । 

उक्त उमेर समूहका बालबालिकाले पाउनुपर्ने पोलियो, विसिजी, हेपटाइटिस बि, डिपिटी, दादुरा, रुबेला, टिटी, जेई जस्ता खोप पूर्ण रुपमा पाएको अवस्था र आउदा दिनमा पनि पाउने सुनिश्चितता सहित पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको दुदिलाभाटी स्वास्थ्य चौकीका प्रमुख यममाया रानाले वताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय, दुदिलाभाटी स्वास्थ्य चौकी र गाविस कार्यालयको संयुक्त पहल र आयोजनामा भएको पूर्ण खोपयुक्त गाविस घोषणा कार्यक्रममा सहभागी सरोकारवालाले आगामी दिनमा जन्मने बालबालिकालाई पनि अनिवार्य खोप लगाउने प्रतिबद्धता जनाएको गाविस सचिव काशिराम शर्माले जानकारी दिनुभयो । खोप नियमित रुपमा लगाएको अवस्थामा शिशु तथा बालबालिकालाई बिभिन्न १० प्रकारका रोगबाट बचाउन सकिने स्वास्थ्यकर्मीले वताएका छन् । 

बागलुङमा अहिलेसम्म मालिका, हटिया, नरेठाँटी, काँडेवास, पाला, सर्कुवा लगायत गरी १२ वटा गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका खोप अधिकृत रामचन्द्र चौधरीले बताउनुभयो । धम्जा, सल्यान, रेश लगायतका गाविस पनि घोषणाका लागि तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment