धौलागिरिमा सरसफाई सप्ताह मनाउन सुरु

बागलुङ, जेठ २३ । १६ औ राष्ट्रिय सरसफाई सप्ताह धौलागिरीमा पनि हिजोबाट बिविध कार्यक्रम सहित मनाउन सुरु गरिएको छ । सरसफाई तथा स्वच्छता समन्वय समिति, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय, पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना लगायत निकाय एवं संघ संस्थाहरुले सन्देशमुलक कार्यक्रम गरेर जिल्ला व्यापी सरसफाई सप्ताह मनाउन सुरु गरेका हुन् । विपत्तिको बेला पनि सफा राखौं धर्ती, सबै स्वास्थ्य सफा राख्न प्रयोग गरौं चर्पी भन्ने मुल नाराका साथ मनाइने सप्ताहको पहिलो दिन  बागलुङमा सरसफाई गरिएको छ । 
जिल्ला विकास समिति, डिवासीसी र जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको संयुक्त आयोजनामा शुरु भएको अभियान अन्र्तगत पहिलो दिन बागलुङ बजारका विभिन्न टोलमा सरसफाइ कार्यक्रम सम्पन्न भएका छन् । गैरसरकारी संस्थाहरुको अगुवाइमा एक टीम, नगर खानेपानी तथा सरसफाइ संस्थाको अगुवाइमा एक र डिभिजन खानेपानीको नेतृत्वमा एक टिम गरी ३ वटा टिममा प्रजिअ, स्थानीय विकास अधिकारीसहित प्रहरी, सेना, समाजसेवी, युवा, विद्यार्थी, पत्रकार, उद्योग बाणिज्य संघ लगायतको टोलीले बजार सफाइ गरेको थियो ।
अभियानमा बजारबासीले पनि सहयोग गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले सरसफाइ मानव सभ्यताको प्रतिक भएको बताउनुभयो । उहा“ले सरसफाइले हरेक देशको स्वच्छता र विकासको परिचय समेत दिने भएकोले सबैको साझा अभियान बन्नुपर्नेमा जोड दिनुभयो । पौडेलले नेपालीहरु सरसफाइको अभियानमा अगाडी बढीसकेको सन्देश दिनका लागि यो सप्ताहले सहयोग पुग्ने धारणा राख्नुभएको थियो ।  अभियान अन्र्तगत आइतवार सबै सरकारी कार्यालयहरुले आफ्नै कार्यालय परिसर र वरपर सफा गर्ने कार्यक्रम पनि रहेको छ । अभियान आगामी २८ गतेसम्म सञ्चालन रहने छ । 
यसैगरी, म्याग्दीको बेनीमा पनि बेनी खानेपानी उपभोक्ता संस्थाको संयोजनमा बजार सरसफाई कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीबाट सुरु गरि न्युरोड, क्याम्पसचोक, अस्पतालचोक हुदै कालीपुल बसपार्क क्षेत्रमा सरसफाई गरिएको थियो । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, विभिन्न कार्यालयका प्रमुख, शिक्षक, विद्यार्थी र संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सरसफाई सप्ताहको अवसरमा बेनीको लिटिल गार्डेन एकेडेमिले शुक्रबार म्याग्दी र कालीगण्डकी नदी किनारमा सरसफाई गरेको छ ।
विद्यालयका शिक्षक र विद्यार्थीहरुले नदी किनारको फोहोर संकलन गरि ब्यवस्थापन गरेका हुन् । सरसफाई सम्बन्धी जनचेतना अभिबृद्धिका लागि जिल्लाभर साताब्यापी सन्देशमुलक कार्यक्रम गरिने खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment