संविधानको मस्यौदा लेखन सुरु

काठमाडौं, जेठ ३२ । संविधानसभाको मस्यौदा समितिले सहमति भएका थप विषयमा मस्यौदा लेखनको काम सुरु गरेको छ । मस्यौदा समितिले आइतबार सिंहदरबारमा बैठक गरेर सहमति भएका थप विषयमा मस्यौदा लेखनको काम सुरु गरेको हो । संविधानसभाले राज्य पुनसंरचना, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली लगायतका विषयमा फरक मत सहित सहमति भएको प्रतिवेदन समितिमा शुक्रबार पठाएको थियो । 

समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभाले दिएको समयसीमा भित्र मस्यौदा लेख्ने काम कुनै हालतमा पूरा गर्नुपर्ने भन्दै आफ्नो जिम्मेवारीप्रति गम्भिर हुन समितिका सदस्यलाई आग्रह गर्नुभयो । उहाँले समितिले अब निरन्तर काम गर्ने बताउनुभयो । संविधानसभाले मस्यौदा तयार गर्न समितिलाई १५ दिनको समय दिएको छ ।

समितिले प्रस्तावना र परिभाषा, मौलिक हक, आयोग र राज्यको निर्देशक सिद्धान्त, न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका उपसमिति बनाएर सहमति भएका विषयमा १० महिना पहिले नै मस्यौदा तयार गरिसकेको थियो । संविधानसभाले शुक्रबार सहमति गरेर पठाएका विषयलाई ती पाँच उपसमितिले आ–आफ्नो प्रतिवेदनमा थप गर्ने छन् त्यसपछि ७३ सदस्यीय समितिले पाँच वटै समितिका प्रतिवेदनलाई एकीकृत रुप दिने छ ।

बैठकबाट संविधान मस्यौदा समितिले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति अनुरुप दुई दिनभित्र मस्यौदा प्रतिवेदन तयार पार्न मातहतका पाँच उपसमितिलाई निर्देशन समेत दिएको छ । उपसमितिको बैठक लगातार बसेर प्रतिवेदन तयार पारी असार २ गतेको समितिको पूर्ण बैठकमा पेस गर्ने निर्णय भएको समितिका सदस्य रमेश लेखकले जानकारी दिनुभयो । प्रतिवेदनका आधारमा उपसमितिले मस्यौदाको प्रतिवेदन तयार पार्नुपर्ने कार्यादेश समितिलाई छ । सोह्र बुँदे सहमतिमा उल्लेख नभएका विवादित विषयसमेत टुङग्याउने जिम्मा उपसमितिलाई दिइएको छ ।

भरतमोहन अधिकारीको संयोजकत्वमा व्यवस्थापिका उपसमिति, हितराज पाण्डेको संयोजकत्वमा कार्यपालिका उपसमिति, रमेश लेखकको संयोजकत्वमा न्यायसमिति, जितेन्द्र देवको संयोजकत्वमा प्रस्तावना उपसमिति र अइन्द्ररसुन्दर नेम्वाङको संयोजकत्वमा मौलिक हक उपसमिति रहेका छन् ।
साभार: अनलाइनखवरबाट
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment