राजनीतिक दाउपेच नगर्न राष्ट्रपति रामवरण यादवलाई सुझाव

काठमाडौं, असार ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पद सेरेमोनियल हो भन्दै कुनै पनि प्रकारको राजनीतिक दाउपेच नगर्न राष्ट्रपति रामवरण यादवलाई सुझाव दिनुभएको छ । नियमित स्वास्थ्य परीक्षणपछि थाइल्याण्डबाट मंगलवार स्वदेश फर्किनुभएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपतिलाई उनको संवैधानिक हैसियत सम्झाउनुभएको हो ।
पत्रकारहरुको प्रश्नमा जवाफ दिदै ओलीले भन्नुभयो, ‘राष्ट्रपति सेरेमोनियल हुनुहुन्छ, मलाई विश्वास छ उहाँले त्यो पदमा बसेर राजनीति गर्नु हुदैन भन्ने बुझ्नु भएको होला ।’ राष्ट्रपति यादवले चार दलको १६ बुँदे सम्झौताप्रति असन्तुष्टि जनाउँदै साना दलहरुलाई उक्साएको र पछिल्लोपटक सर्बोच्चको आदेश मान्न दलहरु र संविधानसभालाई घुमाउरो ढंगले दबाव दिएकोमा प्रमुख दलहरु असन्तुष्ट बनिरहेका बेला ओलीको यो भनाइ आएको हो ।

ओलीले सर्वोच्च अदालतको पछिल्लो आदेश राजनीतिक र अन्य उद्देश्यबाट प्रेरित भएर आएको टिप्पणी गर्नुभयो । ओलीले भन्नुभयो, ‘संविधानसभालाई कुनै आदेश र फैसलाले प्रभावित पार्न सक्दैन, संविधान चाँडै जारी हुन्छ ।’ ओलीले अन्तरिम संविधानका धारा र दफाले संविधानसभालाई आफ्नो काम गर्न रोक्न नसक्ने समेत दावी गर्नुभयो । ओलीले प्रश्न गर्नुभयो, ‘अन्तरिम संविधान अनुसार मात्रै संविधान बनाउने हो भने त किन चाहियो संविधानसभा !’

अध्यक्ष ओलीले सर्वोच्च अदालतको पछिल्लो आदेशले ०५२ को सर्वोच्चको विवादस्पद फैसलाको पुनरावृत्ति गराएको बताउनुभयो । ओलीले भन्नुभयो, ‘२०५२ भदौ १२ गतेको एउटा विवादास्पद फैसलाले मुलुकलाई २० वर्ष पछि धकेल्यो, अहिलेको फैसला पनि न्यायिक नभएर राजनीतिक देखियो ।’

०५२ भदौ १२ मा तत्कालीन प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायसहित पूर्ण इजलासका बहुमत न्यायाधीशको फैसलाले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधी निर्वाचनको सिफारिस खारेज गरेको थियो । एमालेले त्यसलाई न्यायिक इतिहासको ‘कालो दिन’ भन्ने गरेको छ ।

सर्बोच्च अदालतले राजनीति गर्न नहुने भन्दै आदेशका पछाडि न्यायिक र संवैधानिक नभएर अरु नै उद्देश्य लुकेको आरोप उहांले लगाउनुभयो । ‘संविधान बन्ने भयो भनेपछि यस्तो खालको आदेश आउनु राम्रो कुरा होइन,’ ओलीले भन्नुभयो, ‘तर अब संविधान निर्माणको काम कसैले रोक्न सक्दैन ।’
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment