भूकम्पको भुमरी र स्वयंसेवक परिचालन

श्रीधर आचार्य
विनाशकारी भूकम्पको भुमरीले गरेको मानवीय तथा भौतिक क्षतिले नेपालीलाई जति आहत गरेको भए पनि यसबाट शिक्षा लिएर नवनेपाल निर्माणमा लाग्नुपर्छ भन्ने नयाँ जागरण, चेतना ल्याइदिएको छ । भूकम्पबाट बढी प्रभावित जिल्लाका लाखौं बासिन्दालाई नयाँ जीवनको अनुभूति भइरहेको छ । त्यसैले एक–अर्कामा सहयोगको भावना विकास भइरहेको छ । सानो निहुँमा झगडा निम्त्याई बोलचाल बन्दको अवस्थामा रहेका छिमेकी, दाजुभाइ एउटै पालमा दिनरात गुजार्ने बनाएको छ भने राष्ट्रिय राजनीतिमा एकाएक दलीय स्वार्थभन्दा केही माथि उठेर काम गरौं भन्ने भावन जागेको देखिंदै छ । 
भूकम्पले ठूलो जनधनको क्षतिमात्र गरेन, अतिकम विकसित मुलुकको सूचीबाट माथि उठ्ने नेपाली लक्ष्यलाई समेत प्रभाव पार्ने देखिएको छ । त्यति हुँदाहुँदै पनि यस परिवेशलाई अवसरका रूपमा लिनुपर्ने आम धारणा व्यवहारमा सफल पार्ने दिशामा नेपाली तन, मन र अन्तर्राष्ट्रिय धन जुट्न सक्यो भने साँच्चै विनाशकारी महाभूकम्पले नेपालका लागि अवसर ल्याइदिएको मान्न सकिनेछ । 
विज्ञानले धेरै सम्भावना उजागर गर्ने गरेको भए पनि भूकम्पको भविष्यवाणी अहिलेसम्म पृथ्वीको गर्भबाट बाहिर आउन सकेको छैन । भूगर्भविद्हरूले इतिहास र पृथ्वीको भौगर्भिक बनोट जस्ता कुरा हेरेर नेपालमा कुनै पनि बेला ठूलो भूकम्पको सम्भावना औल्याउँदै आएका थिए र छन् पनि । सम्भावनालाई आधार बनाएर आवश्यक सतर्कता अपनाउने कुरामा चासो नहुँदा र १९९० साल अनुभव गर्ने पुस्ताबाहेकले ठूलो भूकम्पको अनुभूति नगरेका कारण अप्रत्यासितरूपमा गोरखामा गएको भूकम्पले नेपाली जन, धनको ठूलो क्षति ग¥यो । निरन्तरका पराकम्पनले त्रसित, निराश र हतास बनायो । मानौं राजधानीलगायतको मध्यपहाडी नेपाल बस्नै नहुने बनाउने त होइन ? लाखौं जन प्राणपखेरु असामयिकरूपले उड्ला भन्ने डरले सुरक्षित भूमिको खोजीमा उपत्यकाबाट बाहिरिए तर विस्तारै जनजीवन सामान्य नबनी सुख्खै थिएन, छैन र हुँदै गएको छ पनि । पराकम्पनको क्रम घट्दै गरेकाले भूकम्प पीडित नेपाली समाजले पनि विस्तारै राहतको अनुभव गर्न थालेको छ । गाँस, बास र कपासका लागि जुट्न थालेको छ । एकले अर्काको दुःखमा साथ, सहयोग जुटाउने वातावरण सिर्जना भएको छ । 
भूकम्पले करिब आठलाख घरमा क्षति पु¥यायो र लाखौंलाई घरबासविहीन बनाएको अवस्था छ । विद्यालयहरू ध्वस्त भएका छन् । सिंगो मुलुक एकजुट भई पीडितका घाउमा मल्हम–पट्टी लगाउनु जरुरी भएको अवस्थामा यतिबेला आकाश ओढेर दिनरात बिताइरहेकाहरूलाई वर्षाद अघि नै छानामुनि पु¥याउन र विद्यालय जान नपाएका बालबालिकालाई विद्यालयको व्यवस्था गर्न सरकार, राजनीतिक दल र आम नेपाली नागरिक जुटिरहेको अवस्था छ । भूकम्प जाँदाजाँदैको हतप्रद अवस्थामा साथ नपाउँदा जनताबाट आलोचित राजनीतिक दलहरू स्वयं भूकम्प पीडित भए पनि यतिबेला टन्टलापुर घाम, पानी नभनी पीडितको राहत र पुनःस्थापनामा लागेका छन् । हजारौं कार्यकर्तासहित नेताहरू स्वयंसेवकको रूपमा पीडितका अस्थायी घर बनाउन खटेका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), सबै माओवादी पार्टीहरू, नेकपा (माले) मात्र होइन तराई मधेश केन्द्रित राजनीतिक दलहरू पनि भूकम्प पीडितको राहत, उद्धार र बसोबास व्यवस्थापनको काममा जुटेका छन् । यो अभियानबाट भूकम्पले घर ध्वस्त बनाएका पीडितहरूलाई वर्षाद अघि मानोसँगै छानोमुनि पु¥याउनेमात्र होइन निराश र हतोत्साही बनेका नेपालीमा उत्साह र मनोबल बढाउन मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । 
प्रधानमन्त्री सुशील कोइरालाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुडलाई भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि आवश्यक औजार प्रदान गरी स्वयंसेवक परिचालनलाई औपचारिकता दिनुमात्र भएन, उहाँका केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, गगन थापालगायतले व्यक्तिगतरूपमा समेत भूकम्प पीडितका अस्थायी घर निर्माणको अभियान चलाइरहनुभएको छ । मुलुकको दोस्रो ठूलो राजनीतिक दल नेकपा (एमाले) आफ्नो एक महिने पार्टी काम नै पार्टीका सचिव गोकर्ण बिष्टको संयोजकत्वमा राष्ट्रिय स्वयंसेवक परिचालन समिति गठन गरी भूकम्प पीडित जनताका अस्थायी घर निर्माण, विद्यालय कक्षा कोठा निर्माण र धराप अवस्थामा पुगेका घर, विद्यालय भवन भत्काएर सफा गर्ने, त्यहाँ रहेका अन्न, मालसामान सुरक्षितरूपमा निकालेर सम्बन्धित धनीलाई जिम्मा लगाउने जस्ता काममा जुटिरहेको छ । जेठ १० गतेबाट औपचारिकरूपमा सुरु गरिएको यो अभियानबाट १२ हजारभन्दा बढी अस्थायी घर–टहरा बनेका छन् । कयौं विद्यालयका अस्थायी कक्षा कोठा निर्माण गरी बालबालिकालाई विद्यालय पठाउने अवस्था सिर्जना गरिएको छ । 
नेकपा (एमाले) ले भूकम्प प्रभावित २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा २८ हजार कार्यकर्तालाई स्वयंसेवकका रूपमा एक महिना जनताको सेवामा श्रमदानमात्र गराएको छैन, सबै पार्टी सदस्यलाई यस अभियानमा कुनै न कुनैरूपमा सहभागी गराएको छ । सबै निर्वाचन क्षेत्रमा केन्द्रीय कमिटीका सदस्यले स्वयंसेवकको नेतृत्व गरिरहनुभएको छ । जेष्ठ नागरिकको उमेरमा पुगिसक्नुभएका भरतमोहन अधिकारी, सिद्धिलाल सिंहदेखि शीर्ष नेतृत्व तहका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपालसम्मले कार्यक्षेत्रमा आफूहरूलाई उतारेर स्वयंसेवकमा उत्साह थपिरहनुभएको छ । उपमहासचिव विष्णु पौडेल अनुगमनको जिम्मेवारीबाट ओर्लेर मजदुरको शैलीमा दिनभरि भूकम्पले धराप बनाएका घर भत्काई सामानहरू थन्क्याउन खट्नुभएको देख्दा साँच्चै अब राजनीतिक संघर्ष सकिएछ, मुलुकको आर्थिक समृद्धिका लागि एकजुट हुने बेला आएछ जस्तो लाग्छ । अनेरास्ववियु र युवा संघमा आवद्ध युवा विद्यार्थीदेखि पाको उमेरका शान्ति अधिकारी र शान्ता मानवीहरू र निजामती तथा सार्वजनिक संस्थानका कर्मचारी कोही तालिम प्राप्त सिकर्मी वा डकर्मी होइन तर विपत्तिको घडीमा आफ्नो सीप नभए पनि भावना र साथ देखाइरहनुु भएको छ, दुःखमा परेका दाजुभाइ, दिदीबहिनीलाई खाने, बस्नेलगायतका बोझ नदिई । 
नयाँ शैक्षिक सत्र सुरु भएको साता दिन नहुँदै विद्यार्थी नयाँ उत्साहका साथ नयाँ र माथिल्लो कक्षाको अनुभव गर्न के सुरु गर्दै थिए, भूकम्पले विद्यालय नै ध्वस्त पारिदिएको घटनाले विद्यार्थी नै बढी आहत भए । त्यसैका कारण हुनुपर्छ स्वयंसेवकका रूपमा युवा विद्यार्थी नै पहिले विद्यालय बनाउन तम्सिए । अहिले अनेरास्ववियु र युवा संघका स्वयंसेवक पनि क्षतिग्रस्त विद्यालय निर्माणमा सक्रिय देखिएका छन् । उनीहरूले विद्यालयको कक्षा सञ्चालनका लागि सयौं अस्थायी टहरा बनाए । यसो नभएको भए सायद अझसम्म पनि विद्यालय खोल्ने कल्पना गर्न सकिंदैनथ्यो होला । 
निर्माण कामको कुनै तालिम नलिएका विद्यार्थी, युवा तथा अन्य उमेर समूहका स्वयंसेवक विपद्को बेला जस्तो बनाउन सकिन्छ, कमसेकम त्रिपालको बासबाट केही सुरक्षित भरपर्दो अस्थायी घर बनाउन सकिन्छ भन्ने साहस बोकेर अगाडि बढेकाले अहिले हजारौं परिवार अस्थायी घरमा बसेर आफ्नो बाँकी योजना सोच्ने अवस्थामा पुगेको छन् । पार्टी कार्यालयबाट निर्माण कामका लागि आरा, हम्बर, सावेल, किला र आफ्नो खाने, बस्ने बन्दोबस्तीका सामान बोकेर निर्धारित कार्यक्षेत्रमा पुगेका स्वयंसेवकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिमुखीकरण होस् वा अनुगमनका अवसरमा भनिरहनुभएको छ– तालिम प्राप्त हुनुहुन्न त्यसैले किलाकाँटी, हम्बर र आराले तपाईंहरूलाई चिन्दैनन् । त्यसैले सावधानीपूर्वक, सफलतापूर्वक काम सम्पन्न गर्नुहोला, साहसिक नबन्नुहोला । 
निश्चय पनि यो दुःखमा परेका नेपालीलाई एकले अर्कोलाई सक्दो सहयोग गर्ने बेला हो । लाखौं घर भत्केका छन् । परिवारका सदस्यको मृत्यु भएको छ । सबै घर स्वयंसेवकले बनाउन सम्भव पनि छैन । केवल त्रसित, निराश र मनोबल कमजोर बनाएका पीडितमा उत्साह, बल र सहानुभूति प्रदान गरी ‘मलाई दुःख पर्दा साथ दिने सरकार, राजनीतिक दलहरू, नेपाली समाज रहेछ’ भन्ने अनुभूति गराउने हो, सन्देश दिने हो । सरकारले भूकम्प पीडितका लागि घोषणा गरेको आर्थिक सहयोग र दलहरूले परिचालन गरेको स्वयंसेवक अभियानले यो सन्देश दिएको छ । 
मुलुक संघीयतातर्फ जाँदै गरेको यस संक्रमणकालीन अवस्थामा क्षेत्रीयता, जातीयता जस्ता कुराले मानव समाजलाई विभाजन गरिरहेको अनुभव भइरहेको बेला राजनीतिक दलहरूले स्वयंसेवक परिचालन गरेर नेपाली समाजमा आपसमा एकताको राम्रो सन्देश पनि दिएका छन् । कपिलवस्तु, सिरहा, सप्तरी, मोरङलगायतका जिल्लाका राजनीतिक कार्यकर्ता स्वयंसेवकका रूपमा रसुवा, धादिङ, सिन्धुपाल्चोक पुगेका छन् । कर्णाली, महाकाली र मेचीका स्वयंसेवक दोलखा, गोरखा, रामेछापलगायत भूकम्पबाट अति प्रभावित जिल्लाहरूमा पुगेर त्यहाँका भूकम्प पीडितको गाँस, बासमा सहयोग गरिरहेका छन् । भूकम्प पीडितहरूले पनि स्वयंसेवकका रूपमा पुगेका दाजुभाइ, दिदीबहिनीको सदाशययुक्त सहयोगलाई सदुपयोग गरेर आफ्ना समस्या समाधानमा सहभागी गराउने र उचित समयमा फिर्ता पठाउने कुरामा सहयोग गर्नु आवश्यक छ । घरमा मकै लगाउने, बारी खनीखोस्री गर्ने, धानको ब्याड राख्ने बेलामा आफ्ना निजी तर महŒवपूर्ण काम थाती राखेर एक महिना लामो स्वयंसेवाका लागि घर छाडेर हिड्नु कृषिमा आधारित हामी नेपालीका लागि सामान्य कुरा होइन । यसको मूल्यांकन सम्बन्धित दलहरूले त गर्ने नै छन्, त्योभन्दा ठूलो मूल्यांकन नेपाली समाजमा पर्ने सकारात्मक प्रभावबाटै हुनेछ ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment