पर्यटन बोर्डमा नयाँ हाकिमको जागिर खुल्यो

काठमाडौं, जेठ २७ ।  
नेपाल पर्यटन बोर्डमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दोस्रो पटक आवेदन मागिएको छ । बोर्डले १५ दिनको म्याद राखी बुधबार आवेदन मागेको हो । बोर्ड चार वर्षदेखि कार्यकारी प्रमुखबिहीन भएको छ ।
यसअघि बोर्डले सिइओको पदपूर्तीका लागि प्रकृया अगाडि बढाएपनि बिचैमा रोकिएको थियो । त्यतिबेला आवेदकहरू छनौट गरेर १२ जनाको नाम ‘सर्ट लिष्टेड’ समेत भइसकेको थियो ।
अन्तर्वार्ताको बेलामा उम्मेदवार सुभाष निरौलाले चलखेल सुरू गरेपछि सिइओ छनोट प्रकृया रोकिएको बताइन्छ ।
सिइओ छनौट प्रक्रिया पनः अघि बढाउन बोर्डले यही जेठ १७ गते तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा पर्यटन मन्त्रालयका सहसचिव मोहन कृष्ण सापकोटा, बोर्डको कार्यकारी समितिमा निजी क्षेत्रबाट प्रतिनिधित्व गरेका सदस्यहरु घनेन्द्र श्रेष्ठ र राजेन्द्र सापकोटा रहेका छन् । घनेन्द्र श्रेष्ठ समितिका संयोजक हुन् ।
यही समितिले बोर्डमा सिइओ नियूक्ती प्रकृया अगाडि बढाएको हो । ‘यसअघि सर्ट लिष्टमा परेका आवदेकहरुलाई कायम राखेर नयाँ आवेदन मागिएको छ’ छनौट समितिका संयोजक श्रेष्ठले भने- ‘सिइओका लागि नयाँ सोँच र विचार भएका प्रतियोगीहरु बढी होउन भनेर नयाँ आवेदन मागिएको हो ।’
यसअघि सर्ट लिष्टमा परिसकेका उम्मेदवारले पुनः सिइओका लागि प्रतिस्पर्धा गर्न इच्छुक भए १५ दिनभित्र जानकारी गराउनुपर्ने समितिका सदस्य मोहनकृष्ण सापकोटाले बताए ।
सर्ट लिष्ट गरिएका उम्मेदवारमा दीपकराज जोशी, हरि शर्मा, नारायण प्रधान, हुम गुरुङ, लोक बहादुर खत्री, भूमी लामा, रघु विष्ट, विष्णु जिसी, सुभाष निरौला, ज्ञानेश्वर महतो, ज्ञानेन्द्र तुलाधर, शिव शरण थापा  रहेका छन् ।
स्नातकोत्तर अनिवार्य
सिइओका लागि उम्मेदवारी दिन कुनै पनि विषयमा स्नातकोत्तर गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव संगालेको नेपाली नागरिक हुनुपर्ने छ ।
उम्मेदवारमा नेपाली र अंग्रेजी भाषाको दख्खल हुनुपर्ने छ । ‘बोर्डको सिइओ डाइनामिक, ब्रिलियन्ट, क्वालीफाइड, व्यवसायीक रुपमा दक्ष, उच्च मनोवल भएको, निर्णय क्षमता भएको, स्वस्थ, राम्रो भिजन भएको हुनुपर्छ’ छनौट समितिका सदस्य मोहनकृष्ण सापकोटाले भने- ‘हाम्रो प्रयास यस्तै व्यक्तिलाई बोर्डको सिइओ बनाउने हुन्छ ।’
घटिमा एक महिना र बढीमा डेढ महिनाभित्र बोर्डले सिइओ प्राप्त गर्ने बोर्डका सदस्य सचिव समेत रहेका छनौट समितिका सदस्य श्रेष्ठले जानकारी दिए । सिइओ छनौट प्रकृयामा कहीकतैबाट प्रभावित नभई दक्ष र व्यवसायीक व्यक्ति बोर्डमा ल्याउने उनको भनाई छ ।
पुराना उम्मेदवार
पहिला सर्ट लिष्टमा परेका उम्मेदवारमध्ये सुभाष निरौलालाई बोर्डको भ्रष्टाचार काण्डमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरिसकेको छ । शिवशरण थापा अमेरिकामा रहेका छन् भने हरिहर शर्मा र लोकबहादुर खत्रीमा सुगर देखिएको बुझिएको छ । भूमी लामाको उमेर ६५ माथि पुगिसकेको बताइन्छ । बोर्डको सिइओका लागि उमेर हद भने तोकिएको छैन ।
तत्कालिन सिइअो प्रचण्डमान श्रेष्ठ हुँदै नयाँ सिइओको लागि आवेदन मागिएको थियो । निजी क्षेत्रबाट सहभागी बोर्ड सदस्यहरु गणेश सिम्खडा, ङिमी शेर्पा र ध्रुबनारायण श्रेष्ठको समितिले विज्ञापन गरेर सर्ट लिष्ट गरेपनि अन्तिम समयमा सुभाष निरौलाले चलखेल गरेपछि तत्कालिन पर्यटन मन्त्रीले छनौट प्रकृया केही समय रोक्न आग्रह गरेको बताइन्छ ।
उम्मेदवारले अन्तरवार्ताको चिठीसमेत बुझिसकेका थिए । त्यतिबेला एकजना सदस्यमात्र सुभाष निरौलाको पक्षमा देखिएपछि आफु सिइओ नहुने देखेर उनले चलखेल सुरु गरेको पुराना उम्मेदवारको गुनासो छ ।
त्यसपछि अदालतमा निरौलासहित विभिन्न व्यक्तिहरुबाट मुद्दाको ओइरो लागेपछि सिइओ नियुक्ती प्रकृया अवरुद्ध भएको थियो । पछि दुई सदस्यीय समिति बनाएर अन्तरवार्ताको मिती पुनः तोकिँदा पनि मुद्धा परेर छनौट प्रकृया रोकिएको थियो ।
यसअघि बोर्डको सिइओ छनौटका लागि निजी क्षेत्रबाट सहभागी तीनजना कार्यकारी सदस्य भएको समिति हुनुपर्नेमा व्यवस्था थियो । अहिले सिइओ छनौट प्रकृयालाई सहज बनाउन नियमावली परिवर्तन गरेर २ जना निजी क्षेत्रका र एकजना सरकारी क्षेत्रबाट एकजना रहने व्यवस्था गरिएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment