९० प्रतिशत होटलहरु सुरक्षित: मन्त्री शेर्पा

काठमाडौं, जेठ २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले महाभूकम्पबाट क्षति पुगेका पर्यटन क्षेत्रलाई पुनः स्थापनाका लागि स्वदेशी,पूँंजी, श्रमशक्ति र प्रविधिको प्रयोग गरी आउँदो सिजन भित्रै पुनःनिर्माण गरिसक्ने बताउनुभएको छ ।
मिडिया इन्टरनेशनलले आयोजना गरेको अन्तरक्रियामा मन्त्री शेर्पाले  ९० प्रतिशत होटलहरु सुरक्षित रहेको र क्षति भएका क्षेत्रहरुलाई केही महिनाभित्रै पुनः स्थापना गर्न सकिने बताउनुभयो । मन्त्री शेर्पाले सरकारले प्रशासनिक झंझट मुक्त गरी लोकतान्त्रिक संस्कार, उच्च प्राथमिकता र जिम्मेवारीवोधका साथ काम गरिरहेको बताउनुभयो ।  
मन्त्री शेर्पाले भुकम्पका कारण भएको क्षतिले तहस नहस पारेका क्षेत्र पुर्नस्थापित गर्न २ देखि ५ वर्ष लाग्ने भएता पनि पर्यटक भित्रयाउने कार्य आउँदो सिजनमैे सफलता हासिल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहांले छिट्टै हुन गइरहेको लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि नेपाल सुरक्षित छ भन्ने सन्देश लिएर जाने बताउनुभयो ।  कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन र जलश्रोत मध्ये जलश्रोत र पर्यटन क्षेत्रमा भूकम्पले केहीं क्षति पुर्‍याएको भए पनि देशलाई अन्तर्राष्ट्रिय जगतको प्रयोगशाला बनाइनु हुन्न, आफै आफ्नो देश बनाउनेतिर लाग्नु पर्ने बताउनुभयो ।  
नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले सगरमाथामा १७ पर्यटक मृत अवस्थामा भेटेको र ७१ जनाको ४ घण्टाभित्रै उद्धार गरिएको बताउँंदै धेरै क्षति हिमाली क्षेत्रमा भएकाले सरकारले त्यसतर्फ ध्यान दिनु पर्नेमा जोड दिनुभयो । नेपाल ट्रेकिङ एजेन्स एसोसियसन अफ नेपाल ‘टान’का अध्यक्ष रमेश धमलाले पर्यटन क्षेत्रका श्रमिकहरु झन् पीडित रहेकाले त्यसतर्फ सरकारले अति शुक्ष्म ढंगले ध्यान दिएर कार्ययोजना बताउनुपर्ने बताउनुभयो । 
होटेल संघ नेपाल ‘हान’का कोषाध्यक्ष तथा पर्यटन बोर्डका सदस्य घनेन्द्रबहादुर श्रेष्ठले ९५ प्रतिशत होटेलहरु सुरक्षित रहेको उल्लेख गर्दै नेपाल सुरक्षित छ भन्ने सन्देश सबैतिर फैलाउनु पर्नेमा जोड दिनुभयो ।  राष्ट्रिय पर्यटन महासंघका अध्यक्ष ज्योति अधिकारीले क्षतिको पुनस्र्थापना आफ्नै पाखुराले गर्नुपर्नेमा जोड दिनुभयो । उहांले अहिले पुनः स्थापनाको समय भन्दा पनि बाटो घाटोलाई सफा पार्ने र पर्यटकहरुलाई घुम्न योग्य बनाउने समय भएको बताउनुभयो ।  मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषको सभापतित्वमा भएको सो कार्यक्रममा मन्त्री शेर्पाले पर्यटन पत्रकार संघका नवनिर्वाचित पत्रकारहरुलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment