जिविस बागलुङद्वारा ६ सय ५ योजना सञ्चालन

रबिना बोहरा, 
बागलुङ, असार १५ । जिल्ला विकास समिति बागलुङमार्फत चालु आर्थिक वर्ष २०७१/०७२ मा सञ्चालन भएका मध्य अहिलेसम्म २ सय योजनाहरु सम्पन्न भएका छन् । जिल्ला विकास समिति बागलुङमा यस वर्ष ६ सय ५ वटा योजनाहरु सञ्चालन भएका छन्। 

सबैजसो योजनाहरु सम्झौता भएपनि काममा भने ढिलाई भएको छ । करिब १० करोड ३८ लाख ३५ हजार ६ सय रुपैयाँका योजनाहरु जिल्लामा सञ्चालन भैरहेको जिल्ला विकास समिति बागलुङले जनाएको छ । हालसम्म सम्पन्न भएर फर्छौट भएका योजनाहरु २ सय रहेका छन् भने अन्य योजनाहरुको काम भैरहेको जिल्ला विकास समितिको योजना शाखाले जनाएको छ । सम्झौता भएका योजनाहरु सम्पन्न भएर फरफारक र अन्तिम भुक्तानीको काम धमाधम भैरहेको योजना शाखाका अधिकृत प्रेमप्रसाद सापकोटाले बताउनुभयो ।

कतिपय योजनाहरु आर्थिक वर्षको अन्तिम महिना असारमा सुरु भएर हतार हतारमा काम भैरहेका छन् । बजेट सक्ने र फ्रिज हुन नदिने उद्देश्यले आर्थिक वर्षको अन्तमा हतार–हतारमा टालटुले काम गर्ने प्रवृत्तीले योजना दिगो र गुणस्तरीय बन्न नसकेको पाईएको छ ।

जिल्ला विकास समितिको कार्यालयबाट सञ्चालन गरिएका विभिन्न योजना मध्य ३ करोड रुपैयाँको निर्वाचन क्षेत्र पुर्वाधार बिशेष कार्यक्रममा ३० वटा योजना रहेकोमा ५ वटा योजना मात्र सम्पन्न भएका छन् । २ करोड ५२ लाख रुपैयाँको विद्युत रोयल्टी योजनामा ४६ योजना रहेकामा ५ वटा योजना मात्र फर्छौट भएका छन् । १ करोड २४ लाख ९८ हजार रुपैयाँको जनसहभागीतामा आधारित विकास कार्यक्रम अन्तर्गत ४९ वटा योजना रहेकोमा एक वटा योजना पनि फर्छौट हुन सकेको छैन ।

स्थानीय यातायात पुर्वाधार क्षेत्रगत कार्यक्रमअन्तर्गत ८० लाख रुपैयाँको योजनामा ५ वटा सडक रहेकोमा २ वटा सडक सम्पन्न भई फर्छौट हुन बाँकी रहेको छ भने एउटा सडक भने अहिले मात्र सुरु भएको छ । ८० लाख रुपैयाँको स्थानीय यातायात क्षेत्रगत नियमित कार्यक्रमतर्फ २१ वटा योजना रहेकोमा ७ वटा योजना सम्पन्न भएका छन् । ५९ लाख ३५ हजार रुपैयाँको ३६ वटा ग्रामिण खानेपानी योजनामा कुनै योजनामा पनि सम्पन्न हुन सकेको छैन । यस्तै राजश्व बाँडफाड कार्यक्रममा ५६ योजनामा १९ वटा सम्पन्न भैसकेका छन् । सडक डिभिजन कार्यालयबाट हस्तान्तरण भएका १३ सडक मध्य एक वटा फर्छौट भएको छ भने अन्य फर्छौट हुन सकेको छैन ।

निर्वाचन क्षेत्र विकास कार्यक्रममा रहेका ८० योजनामा २७ योजना सम्पन्न भएका छन् । ६ लाख ३० हजार रुपैयाँको झोलु·े पुल कार्यक्रममा ४३ योजनामा ३३ वटा योजना मात्र सम्पन्न भएका छन् । स्थानीय सडक पुल निर्माण तथा मर्मत कार्यक्रमअन्तर्गत २ वटा योजना रहेकामा दुवै योजना सम्पन्न हुन सकेका छैनन् । यसरी जिल्ला विकास समितिले समयमा नै योजना सम्झौता गरेर समयमै सम्पन्न गर्ने लक्ष्य राखेपनि सफल हुने देखिएको छैन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment