'सौराह सुरक्षित' भन्ने सन्देश दिन अभियान

चितवन, जेठ २५ । भूकम्प आउनु भन्दा अगाडिदेखि सौराहामा रहेका विदेशी पर्यटकहरुले भूकम्पबाट सौराहा सुरक्षित छ भन्ने सन्देश दिन अभियान थालेका छन् । सौराहाका पर्यटन व्यवसायीहरुले पर्यटकहरुका लागि विशेष छुट दिने घोषणा गरेका छन् । होटल व्यवसायीदेखि पर्यटनसँग सम्बन्धीत व्यवसायीहरुले न्यूनतम १० देखि ५० प्रतिशतसम्म छुट योजना सार्वजनिक गरेका हुन् ।
यसअघि पोखराका व्यवसायीहरुबाट छुट योजना सार्बजनिक भएको थियो । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाको पहलमा पर्यटनसँग सम्बन्धीत ७ संस्थाले संयुक्तरुपमा छुट योजना सार्बजनिक गरेका छन् । ‘नेपालमा भूकम्पपछि पर्यटन ब्यवसाय सुस्ताएको छ । सौराहालाई सुरक्षित सावित गर्न हामी प्रयत्नशील छौं,’ रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्ट (राजन)ले भन्नुभयो, ‘यो बेला नाफा कमाउने भन्दा पनि पर्यटकको चहलपहल बढाउनु नै मुख्य उद्देश्य हो ।’ स्वदेशी र विदेशी पर्यटकहरुका लागि सौराहाका प्रत्येक होटलमा बास बस्दा कोठामा ५० प्रतिशत र रेष्टुरेन्टको बिलमा २० प्रतिशत छुटको व्यवस्था गरेका छन् । यस्तै हात्ती सफारीमा समूहमा सिधै आउनेलाई १० प्रतिशत छुट दिइने छ ।
‘सौराहा आउने जो–कोही पर्यटकले यहाँका सबै होटलमा विशेष छुट योजनासहित घुम्न पाउनेछन्,’ क्षेत्रिय होटल संघका उपाध्यक्ष दिपक भट्टराईले भन्नुभयो । चितवनको समग्र पर्यटनको विकास गर्ने उद्देश्यले सौराहामा संयुक्त रुपमा छुटैछुटको योजना ल्याएको व्यवसायीहरुले बताए । जीप सफारी, डुंगा सयर, जंगल सफारी र जनजातीको कलासँस्कृति अवलोकनमा समेत छुट दिने व्यवसायीहरुले बताएका छन् ।
‘स्थानीय आदिवासी जनजातिको कलासंस्कृति एकसाथ हेर्न पाउनु यो समयमा पर्यटकलाई विशेष अवसर हो,’ स्थानीय थारु होटल पार्क ईनका सञ्चालक अर्जुन चौधरीले भन्नुभयो, ‘हामीले व्यवस्था गरेको छुटबाट पर्यटकहरु थप लाभान्वित हुनेछन् । क्षेत्रीय होटल संघ सौराहाका महासचिव राममणि खनालले प्रत्येक मौसमलाई लक्षित गरी सौराहामा बाह्रै महिना घुम्न सकिने गन्तव्यका रुपमा चिनाउन यस्ता विशेष छुटको योजनाले थप सहयोग मिल्ने धारणा राख्नुभयो । योजनाअन्तर्गत एकजनाले क्रमश: एक रात, दुई रात र तीन रातको प्याकेजमा सौराहा घुम्न पाउनेछन् । प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्ट सहित सम्पूर्ण सफारी गर्न पाउनेछन् । सौराहामा हात्ती सफारी, डुंगा सयर,
हात्ती प्रजनन केन्द्र, थारु नाच, थारु गाउँ अवलोकन र सूर्यास्तको दृष्य अवलोकन आकर्षणका केन्द्र छन् । सपना भिलेज एण्ड लजका प्रवन्ध निर्देशक ध्रव गिरीले भूकम्पपछि पर्यटकको आगमन कम भएको भन्दै भूकम्पले नेपाल असुरक्षित रहेको भ्रम हटाउन आफूहरु लागिपरेको बताउनुभयो ।
पर्यकीय नगरी सौराहामा गत वैशाख १२ र २९ को भूकम्पले कुनै क्षति पुगेको छैन । त्यसैले भूकम्प आउनु भन्दा अगाडिदेखि सौराहामा रहेका विदेशी पर्यटकहरुले समेत सौराहा सुरक्षित छ भन्ने सन्देश दिन अभियान थालेका छन् । अप्रिल १० मा नेपाल आएका डेनमार्कका ३, क्यानडाका २ र नर्वेका १ गरी ६ जना पर्यटकहरुले सौराहा सुरक्षित भन्ने अभियान थालेका हुन् । ‘भूकम्प आएको मैले थाहा पाए तर सौराहामा केहि पनि भएको छैन, यो सन्देश हामीले विदेशी साथीहरुलाई अनलाईन मार्फत पठाएका छौं,’ डेनमार्ककी ग्रिनाले भनिन् । नर्वेकी आनाले पनि आफूले सौराहा सुरक्षित छ भन्ने सन्देश बाँडिरहेको बताइन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment