ट्राभल एडभाइजरीका गलत सूचना हटाउँछौँ –पर्यटनमन्त्री

पोखरा । पर्यटनसम्वन्धमा विभिन्न ट्राभल एडभाइजरीमा रहेका गलत सूचनाहरु हटाउन सरकारले पहल गर्ने भएको छ। पर्यटनमन्त्री कृपाशुर शेर्पाले नेपालस्थित विभिन्न दुतावासका राजदूत र अन्य कुटनीतिक निकायका पदाधिकारीलाई बोलाएर विभिन्न ट्राभल एडभाइजरीमा रहेका गलत सन्देश सहितको सूचना हटाउन लगाउने बताएका छन्।
 
पोखरा पर्यटन पुर्नजागरण समितिले शनिबार पोखरामा गरेको कार्यक्रममा बोल्दै मन्त्री शेर्पाले भूकम्पले धेरै क्षति नपुगे पनि हल्ला बढि भएकाले प्रभाव बढेको बताए। ‘हल्लाले धेरै नोक्सान देखिएको हो, पर्यटकीय १५ प्रतिशत सम्पदामा मात्र क्षति पुगेको हो’ उनले भने, ‘काठमाडौं उपत्यकामा पनि सबै पर्यटकीय संरचना ध्वस्त भएको होईन, २० प्रतिशत मात्र हो ।’
 
अग्ला हिमाल आरोहण गरेका स्वदेशी र विदेशी आरोहीलाई विशेष दुत बनाएर पर्यटन प्रवद्र्धन गर्ने पनि उनले बताए । उनले पर्यटन क्षेत्रमा मूल्य घटाएर दलाली गर्ने टुर अपरेटर्स सहित जो कोहिलाई कारवाहि गर्ने चेतावनी  दिए । दलाली गरेर पर्यटकलाई कम मूल्यमा प्याकेज उपलब्ध गराउने जो कोहिलाई २४ घण्टाभित्र देश निकाला गर्नेसम्मको कारवाहि गर्ने उनको चेतावनी थियो । ‘वार्गेनिङ गरेर कम मूल्यमा पर्यटकलाई प्याकेज दिलाउँदा गुणस्तरीय पर्यटकको आगमन कम हुन्छ, त्यहि भएर त्यसमा सचेत हुनुपर्नेछ’ उनले भने । 
 
कार्यक्रममा पिटिआरसीका संयोजक गणेशबहादुर भट्टराइले भूकम्पपछि पनि पर्यटन क्षेत्र खस्किन नपाओस भनेर आफुहरु एकजुट भएको बताए । उनले केहि दिनपछि भारत र चीनमा पुगेर पर्यटन व्यवसायीले प्रवद्र्धनात्मक गतिविधि गर्ने तयारी भएको जानकारी दिए । विभिन्न मूलूकले ‘ट्राभल एडभाइजरी’ मा नेपाल घुम्न असुरक्षित भन्ने शब्द प्रयोग गर्दा त्यसको असर परेको उनले बताए । 
 
छलफलमा ट्रेकिङ एजेन्टस एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष रामचन्द्र शर्माले पदयात्रा क्षेत्रमा मोटरबाटोले पनि अप्ठेरो पारेकोले आगामी दिनमा विकल्प सोच्नुपर्ने बताए । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष गोपिबहादुर भट्टराईले अहिले पर्यटन क्षेत्र पूनरुत्थान गर्न सबैको सहयोग चाहिने बताए । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष पोमनारायण श्रेष्ठले विभिन्न बिमा कम्पनीले नेपाल आउने विदेशी पर्यटकको बिमा गर्न हिच्किचाएकोले समस्या भएको बताए। 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment