नेपालमा मनसुन सुरु

काठमाडौं, जेठ ३२ । नेपालमा तीन दिन ढिला गरी मनसुन सुरु भएको छ । मनसुन त्यति सक्रिय भने छैन । सामान्यतया अंग्रेजी महिनाको १० तारेखदेखि नेपालमा मनसुन सुरु हुने गर्दछ । तर, १३ तारेख अर्थात शनिबारदेखि मनसुन सुरु भएको मौसम विज्ञान विभागले जनाएको छ ।

भारतको केरला हुँदै पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको मनसुन अब विस्तारै देशभर फैलिने मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो । अहिले मनसुन कमजोर भएकाले तत्काल लगातारको वर्षा भने हुने छैन । लगातार पानी पर्न अझै केही समय लाग्ने छ । ढिला मनसुन सुरु भएकाले यस वर्ष कम पानी पर्ने मौसमविदहरुले अनुमान गरेका छन् । मौसम विज्ञान विभागले मनसुन सक्रिय भएकाले केही दिनपछि ठूलो पानी पर्ने र भूकम्पले भूबनोट कमजोर भएका जिल्लाहरुमा जोखिम बढ्ने भन्दै सचेत रहन भनेको छ । 

यसको संकेत ताप्लेजुङ, संखुवासभा लगायत पूर्वी पहाडी जिल्लाहरुमा देखिसकेको छ । गत बैशाख १२ को भूकम्पका कारण १४ जिल्ला अतिप्रभावित र ४० जिल्ला प्रभावितको सूचीमा छन् । ति जिल्लाका जोखिमयुक्त बस्तीलाई मनसुन अघि नै सुरक्षित स्थानमा सार्नुपर्ने भए पनि ढिलाइ भएको छ ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment