नेपाली सेनाद्वारा विद्यालयको अस्थायी टहरा निर्माण

बागलुङ, जेठ २८ । सुर्य दल गणले गत बैशाख १२, १३ र २९ गते गएको भुकम्पका कारण क्षतिग्रस्त भएको कुश्मिसेरा स्थित जनेतना प्राविमा अस्थाई टहरा निर्माण गरेका छन् । सुर्य दलका गणपती उत्तम खड्काले कुश्मिसेरा गाविस वडा नम्बर ६ मा रहेको उक्त विद्यालयमा पठन पाठनको लागि टहरा निर्माण गरेको बताउनुभयो ।

करिब १५ मिटर लम्बाई र ५ मिटर चौडाई भएको ३ कोठे अस्थाई टहरा निर्माण गरेको सुर्य दल गण बागलुङले जनाएको छ । सुर्यदल गणबाट अधिकृतको कमाण्डरमा स्थानीय स्तरबाट विद्यालयले संकलन गरेको बास, काठहरु तथा विद्यालयकै भत्किएको भवनबाट जस्तापाता निकाली अस्थाई टहरा निर्माण गरेको हो ।

अधिकृत नेतृत्वको टोलीले सोही गाविसको वडा नम्बर ६ स्थित पोखरी इलाकामा बस्ने ५५ वर्षका पद्यनाथ शर्माको घर भत्काएको छ । शर्माको नाममा भएको कच्ची घर भुकम्पको कारण क्षति हुँदा बस्न नमिल्ने भएपछि घरधनीको लिखित अनुरोधमा घर भत्काएको खड्काले जानकारी दिनुभयो ।

गणबाट अधिकृतको कमाण्डरमा खटिएको टोलीले सिगाना गाविस वडा नम्बर ४ स्थित भुकम्पबाट क्षति भएको भैण्डाँडा निमाविको दुई कोठे भवन पनि भत्काएका छन् । भवन भत्काएपछि टोलीले ३० फिट लम्बाई र १० फिट चौडाई भएको दुई कोठे अस्थाई टहरा निर्माण गरेका छन् ।
विनाशकारी भुकम्पको कारण बागलुङ जिल्लामा भएका क्षति एवं भौतिक संरचना बाट भएको क्षतिपछि स्थानीय व्यक्तिहरुको सामानहरु निकाल्ने, भवन बनाउने तथा टहरा निर्माण गर्ने कार्यहरुमा सुर्यदल कटिबद्ध रहेको गणपती उत्तम खड्काले बताउनुभयो ।

यस्तै नेकपा एमालेको भुकम्प पुन:निर्माण स्वंसेवक, नेपाली सेना, होटल व्यवसायी संघ बागलुङ र जिल्ला शिक्षा कार्यालयले संयुक्त रुपमा बागलुङ नगरपालिका वडा नं. ११ मा रहेको गणेश प्राविको भवन पुन: निर्माण गरिएको छ । भुकम्पबाट भवनमा क्षती भएपछि पठनपाठनमा समस्या भएका कारण नेपाली सेना र जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहयोगमा भवन पुन: निर्माण गरिएको नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसीले जानकारी दिनुभयो । केसीका अनुसार असार १० गतेसम्म एमालेले सहकार्यमा पुन: निर्माण अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment