दलित बस्तीमा खानेपानीको समस्या

बागलुङ, असार १४ । बागलुङ बिनामारे ७ को दलित वस्तीमा खानेपानी समस्याले स्थानीय सास्ती वेहोर्न बाध्य भएका छन् । नजिकमा पानी नभएपछि एक घण्टा टाढा पानी लिन जानुपर्ने र घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । 

नजिकमा पानी नभएपछि घण्टौ लगाएर पानी लिन जाँदा गृहकार्य समेत गर्न नपाएको कक्षा ६ मा पढ्ने बिनामारे ७ की संजिता परियारले बताउनुभयो । नजिकमा पानीको मुहान नभएपछि उक्त वस्तीका वासिन्दाले अर्जेवा गाविसको बैरावासे भन्ने स्थानबाट पानी बोक्ने गरेका छन् । ‘एक गाग्री पानी लिन गएमा बिहान बित्छ’ परियारले भन्नुभयो, ‘हरेक दिन विद्यालयको पहिलो पिरियड छुट्ने गरेको छ ।’ अभिभावकले नभ्याएपछि विद्यालय उमेरका केटाकेटीलाई पानी खेप्ने काम लगाउने गरेको स्थानीय शर्मिला परियारले बताउनुभयो ।

झण्डै एक घण्टा टाढाको सर्वोदय माविमा पुग्नुपर्ने भएपनि पानीको समस्याले रामतोला, मुलाबारी, देउराली, पैनडाँडा लगायतस्थानका बालबालिका दैनिकजसो ढीला र अनियमित हुने गरेको प्राचार्य भवानी आचार्यले बताउनुभयो । ‘पानीको समस्याले ढीला आएकालाइ हामीले पनि केही भन्न सक्दैनौं’ उहाँले भन्नुभयो, ‘दलित बस्तीका अधिकांस बालबालिका मेलापात र पानी खेप्ने कामले दैनिक पढ्न आउन पनि सक्दैनन् ।’ वडा नंंंं ७ मा दलित समुदायको बस्ती छ ।

खानेपानी योजना निर्माणका लागि गाविस र जिविसमा माग गरेपनि सुनुवाइ नभएको स्थानीयले गुनासो गरेका छन् । ‘दलित भनेर हाम्रा मागलाइ कसैले वास्ता गरेनन्’ स्थानीय दण्डबहादुर नेपालीले भन्नुभयो, ‘सधै सदरमुकाम धाउन नसक्दा नजिकमा पानी ल्याएर खान पनि सकेका छैनौं ।’ नजिकमा पानी नभएपछि मानिसलाइ मात्र नभइ पशुलाइ खुवाउने समस्याले समेत सताएको उनीहरुले गुनासो गरेका छन् । गाउँ परिषदमा माग गरेपनि पानीको योजना नपाएपछि दैनिक एकघण्टा पैदल हिडेरै पानी खेप्ने समस्याले मेलापात लगायतका अन्य काममा समेत ढिलाइ हुने गरेको समेत उनीहरुले बताएका छन् । उक्त बस्तीलाई खानेपानी ल्याउनुपरेमा ५ किमी परबाट ल्याउन सकिने मुहान छ । स्थानीयले खोजी गरेर मुहान भेटेपनि योजना पार्न नसकेका हुन् ।

गाउँ परिषद वा इलाकाबाट पारित भएर आएमा खानेपानी योजनाका लागि जिविसले पनि सहयोग गर्ने स्थानीय विकास अधिकारी भरत गौतमले बताउनुभयो । ‘के कस्तो समस्या रहेछ खोजी गरेर आगामी बर्षको योजनामा पार्ने प्रयास गर्नेछौं’ गौतमले भन्नुभयो, ‘समस्यामा परेकालाई प्राथमिकता दिने गरी योजना बनाउन लगाउँछौं ।’

स्थानीयले ल्याउन खोजेको मुहानबाट पानीको व्यवस्थापन गर्न सकेमा अर्जेवा गाविसका पनि ८० घरको समस्या समाधान हुने स्थानीय बलबहादुर क्षेत्रीले बताउनुभयो । ‘एउटै योजनाबाट बिनामारेका १ सय र अर्जेवाका ८० घरलाइ पानी खुवाउन सकिने सम्भावना छ ।’ उहाँले भन्नुभयो, ‘धेरै बजेट लाग्ने भएकोले गाउँ परिषदले पास गर्न नसकेको हो ।’ 

पानी अभावमा किसानले तरकारी खेती गर्ने योजना पनि अलपत्र परेको गुनासो गरेका छन् । सिञ्चाइ अभावमा स्थानीयले बारीमा कोदो र मकै मात्र लगाइरहेका छन् । खानेपानीलाई सदुपयोग गरेर घरघरमा तरकारी फलाउन सकेमा बजारबाट किनेर ल्याउने पैसा बचाउन सकिने परियारले बताउनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment