जिल्ला विकास समिति बागलुङमा लाखौं अनियमितता भएको खुलासा

बागलुङ, असार १४ । जिल्ला विकास समिति बागलुङमा व्यापक अनियमितता भएको खुलासा भएको छ ।  महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणबाट आर्थिक वर्ष २०७०/७१ मा विकास निर्माण, कर्मचारीको सम्मान र भत्ताको नाममा लाखौ रकम अनियमितता भएको रहस्य खुलेको हो । 

जिल्ला विकास समितिको कार्यालय, बागलुङ 
आयोजनागत रुपमा गर्नुपर्नेमा त्यस बिपरित शिर्षकगत रुपमा बजेट बिनियोजन गरी ८ करोड ५१ लाख रुपैयाँ भन्दा धेरै रकम मनपरी तरिकाले खर्च गरेको महालेखा परीक्षण कार्यालयको प्रतिवेदनमा उल्लेख छ । ३५ लाख रुपैयाँसम्मका कार्यक्रम मात्र उपभोक्ता समितिमार्फत गराउन पाइनेमा झण्डै डेढ करोड रुपैयाँ लागतको छिस्ती खानेपानी योजना उपभोक्ता समितिलाई दिइएको छ । यस आयोजनाका बारेमा अख्तियारमा उजुरी समेत परेको छ । 

यसैगरी, जिल्ला विकास समितिका कर्मचारी लेखराज पन्तलाई १२ लाख २२ हजार ८ सय ५ रुपैयाँ पर्ने सुनको पदकबाट सम्मान गरिएको छ भने बिभिन्न व्यक्ति र संस्थालाई १२ लाख रुपैयाँ भन्दा धेरै जथाभावी बाँडिएको पाइएको जनलेखा परिक्षण बागलुङका अध्यक्ष तिलक सापकोटाले बताउनुभयो । 

हुग्दिशिर मोटरेवल पुल र कुश्मिशेरा सर्कुवा मोटरेवल पुलको लागि २९ लाख ६१ हजार ४ सय ३०, बिभिन्न ५ आयोजनालाई दिनुपर्ने भन्दा १ लाख ९५ हजार ५ सय ८३ रुपैयाँ बढी रकम भुक्तानी दिइएको, समयमा सम्पन्न नगरिएका ५ आयोजनालाई प्रमाण नराखी १६ लाख ८२ हजार ४ सय ६४ रुपैयाँ नियम विपरित भुक्तानी दिएको, भुङ्दीखोला मोटरेवल पुल निर्माणमा लापरावही गरी मापदण्ड अनुसार कार्य नगरिएको, थालेपोखरा, चौविसटोला र भित्रीवन खानेपानी आयोजनामा लागत अनुमान भन्दा ४ लाख ९६ हजार ८ सय ७६ रुपैयाँ बढीमा सम्झौता गरिएको छ ।

यस्तै, बोबाङ गाविसमा ४६ हजार ८ सय, देविस्थानमा २९ हजार, दमेकमा ३३ हजार ४ सय सामाजिक सुरक्षा कोषको रकम नभएका व्यक्ति देखाई तथा दोहोरो भुक्तानी देखाई अनियमितता गरिएको साथै गाविसको ५ करोड १३ लाखा ८२ हजार ६ सय शंकाको घेरामा रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । 

बिभिन्न व्यक्ति तथा संस्थाका नाममा रहेको ३ करोड ६४ लाख २९ हजार ७ सय ७३ रुपैयाँ बेरुजु रकमलाई समयमा फस्र्यौट नगरिएको, आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको ४४ लाख ७९ हजार १८ गाविसले कोष तथा लेखा नियन्त्रण कार्यालयमा फिर्ता नगरेको, राजश्व बाँडफाँडमा प्राप्त रकम ४४ लाख नियम बिपरित प्रशासनिक कार्यमा खर्च गरिएको, मासिक रुपमा बैंक हिसाब मिलान बिवरण बनाउने काम नगरेको तथा कार्यालयको रेकर्डमा भन्दा बैंक खातामा १ लाख २२ हजार कम रकम जम्मा गरेको लगायत अनियमितता भएको छ ।

अनियमितताको जिज्ञासामा स्थानीय विकास अधिकारी भरत गौतमले गत वर्षमा केही कमजोरी भएको स्वीकार गर्नुभयो । कार्यालयमा केही सुधार गर्नुपर्ने विषय देखिएको छ, स्थानीय विकास अधिकारी गौतमले भन्नुभयो– ‘केही अहिलेनै सुधारका क्रममा रहेका छन् ।’ उहाँले आफु चालु आर्थिक वर्षमा मात्र आएको र अहिले नियम बिपरितका कार्यमा धेरै कडाई गरेको बताउनुभयो । 

गत वर्षमा बागलुङमा स्थानीय विकास अधिकारीको रुपमा पुण्यविक्रम पौडेल कार्यरत रहनुभएको थियो । यता जिल्ला विकास समितिका कर्मचारी पन्तले आफूलाई जिल्ला विकास समितिले जागिरबाट निस्कने बेलामा २२ ग्रामको सुनको तक्मा दिएको स्वीकार गर्नुभयो । जिल्ला विकास समितिको नियम अनुसार सेवानिबृत्त हुने कर्मचारीलाई तक्मा दिने व्यवस्था अनुसार आफूलाई सो तक्मा दिएको बताउनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment