महासंकटबाट जोगिएलान् त मठाधीशहरू ?

कमल कोइराला

बैशाख १२ गतेको महाभूकम्पभन्दा एकदिन अघि ललितपुरको गोदावरीमा आयोजित एउटा पिकनिक कार्यक्रममा सहभागी भएको थिएँ । नेपाल विद्वत्वृत्तका सभापति भरत पोखरेलसंग उनी विद्यार्थी छदैदेखि मेरो परिचय थियो । एघार बैशाखका दिन कसैले नमनाएको गणतन्त्र दिवसको छुट्टी थियो । मात्र उपराष्ट्रपति परमानन्द झाले आफ्नो सरकारी निवासमा आयोजना गरेको सीमित दिवाभोज छाडेर कुनै कार्यक्रम सुन्न, बुझ्न पाइएन । पिकनिक जाने बसमा एकासी वर्षका मेरा पुराना मित्र वद्रीप्रसाद खतिवडा भेट हुनु भयो ।
विक्रम सम्बत् २०२५/०२६ मा म काठमाडौंको भद्रगोल जेलमा मनमोहन अधिकारी, निर्मल लामा, शम्भुराम श्रेष्ठहरूसंग रहँदा वद्री खतिवडा, भक्तबहादुर श्रेष्ठ, रुपचन्द विष्ट, गोविन्द ढुङ्गानना इत्यादि मकवानपुर जिल्लातिरका पनि सुरक्षा कानून अन्तरगत भद्रगोल जेलको अर्को कोठामा राखिनु भएको थियो । २०७२ बैशाख ११ गते बद्रीजीले आफ्नो एउटा पर्चा दिनु भयो र मैले त्यो पर्चा पढेपछि भनें–तपाईको पर्चाको पहिलो माग संसद जनताद्वारा प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्नेसंग म पूर्ण रुपले सहमत छु । तर, तपाईको पर्चामा लेखिएका अन्य कुरा र विचारहरूबारेमा भने मेरा भिन्न विचार र सोचाईहरू छन् । त्यसैले तपाईले प्रतिनिधिसभा जनताद्वारा नै निर्वाचित हुनुपर्छ भन्ने कुरा लेख्नु हुन्छ भने म अहिले नै तपाईले लेखेको कागजमा सही गरेर समर्थन गरिदिन्छु ।
सिर्फ चारलाइनको मस्यौदा कोरेपछि साफी गरेर मलाई अन्य मानिसलाई देखाउनु भयो । इलाम क्याम्पसका अवकास प्राप्त प्राध्यापक धरणीप्रसाद, पाटन क्याम्पसका प्राध्यापक कार्की र उहाकी पत्नीले पनि खुसीसाथ सहीछाप गर्नु भयो । यसरी त्यहाँ उपस्थित बौद्धिक ब्यक्तित्वहरू मध्ये सातआठ जनाले भटाभट सही गर्नुभयो । बद्री खतिवडाले म सिताराम मास्के र अरुहरूलाई पनि देखाउछु भनेर सही छाप गरेरको त्यो कागज आफूसंगै राख्नु भयो । गोदावरीको पिकनिक सकेर फर्किदा झमक्क साँझ पर्ने देखेर हामीहरू मध्ये कैयौं जना गोदावरीको बस पार्कतिर पैदल लाग्यौं । बुङ्गमती, ठैंव, बोडे गाउँ, हरिसिद्धि हुदै मिनीबस फर्कियो ।
भोलिपल्ट विहान १२ गते स्वीजल्याण्डबाट आउनु भएका मेरा बहिनी ज्वाइँ माधव आचार्य र भानिज आनन्द आचार्य मेरो घरमा आउनु भएको थियो । तर, खाना खान उहाँहरूलाई अन्तै निम्तो गरेको हुँदा हामीहरूले खाना खानु अघि दुबै जना विदावारी भएर हिंड्नु भयो । त्यसदिन मेरो घर काठमाडौंको थापा गाउँमा ललितपुरको ग्वार्कोबाट भाई विजय र भाईबुहारी अनिता पनि आएकी थिइन । सबैले हाम्रै घरमा खाना खायौं । केहीबेर आराम गरेपछि उनीहरू जाने तरखर गर्न थाले । त्यत्तिकैमा हाम्रो घर जोडले हल्लिन थाल्यो । कोही कता गए, कोही कता गए, तर घर यति जोडले हल्लिन थाल्यो कि मैले तुरुन्तै मेरो कोठा(एकतला माथि)को ढोकाको काठको चौकोस दुबै हातले ठेले जस्तो गरेर चौकोसकै अर्को भागमा पिठ्यूँ अड्याएँ । मेरी नातिनीलाई छातिमा च्यापेर बाहिर निस्कन लाग्नु भएका ज्वाइँले पनि मैले त्यसो गरेको देखेर अफ्नो कोठाको ढोकामा त्यसैगरी चौकोस अँठ्याएर उभिनु भयो र आँत्तिएर चिच्याउन थाल्नु भयो । अनि मेरी छोरी पनि आँत्तिदै आएर त्यसैगरी ढोकाको चौकोस समाएर उभिई ।
२७ वर्ष पहिले २०४५ सालमा धरान–विराटनगरतिर ठूलो भूकम्प जाँदा मैले त्यसैगरेको थिएँ । तर, २०४५ सालको भूकम्पको त्यो विहान ओछ्यानमै रहेकी मेरी पत्नीले पेटीकोट र ब्लाउज मात्र शरीरमा भएकाले राडी लगाउन लाग्दा थप केही सेकेण्डहरू बितिसकेका थिए । त्यो समयमा उनी पनि मैले जसरी नै भुँइतलाको ढोकाको चौकोसमा समातेर उभिइरहिन । विराटनगरमा पाँचजना मजदूरहरू कच्चा पर्खाल ढलेर निधन भएका थिए भने धरानतिर, धेरै ब्यक्तिहरूको ज्यान गएको र धेरै घरहरू लडेको खबर सुनियो । छोरो दार्जिलिङ्ग र छोरी सिक्किमको स्कूलका होस्टेलहरूमा थिए । दार्जिलिङ्गतिर पनि भूकम्प गएको समाचार अलइण्डिया रेडियोबाट सुनेपछि मलाई उनीहरूको अवस्थाका बारेमा जानकारी लिने हतारो भयो ।
२७ वर्ष पहिले आजको जस्तो हात हातमा मोबाइल फोन थिएन । अनि इन्टरनेशनल कल गर्न पनि सजिलो थिएन । नेपाल (विराटनगर)बाट पश्चिम बंगालको नक्सालबाडी नपुगी दार्जिलिङ्ग र सिक्किम सम्पर्क गर्न सजिलो थिएन । त्यसबखत काठमाडौंमा भूकम्पको धक्का जोडले आएको भएतापनि खास कुनै क्षति नभएको कुरा फोनबाट पुगिसकेको थियो । छोराछोरीको अवस्थाबारे जान्न म विराटनगरबाट हान्निदै भारतको नक्सालबाडी पुगें । अनि दुबै स्कूलमा फोन सम्पर्क गर्दा दुबै ठाउँका स्कूल र विद्यार्थीहरूमा कुनै क्षति नभएको जानकारी पाएपछि म विराटनगर फर्किएको थिएँ ।
तर, यस पटक २०७२ बैशाख १२ गतेको महाभूकम्पले राजधानी भएको काठमाडौं उपत्यकाका सबै शहर बस्ती लगायत देशको मुटुमै नराम्रो प्रहार गरेर गयो । तर, सूचना र संचार २०४५ सालको भन्दा हजारौं गुणाले विकसित हुँदा यो महाविपत्ति बारे देशभर र संसारभर नै एकैछिनमा भूकम्पको खबर भाइरल बन्यो ।
पहिलेको ठूलो कम्पनपछि म परिवारका सदस्यहरू संगै घर बाहिर निस्किएँ । केहीबेर बाहिर बसेपछि म फेरि घर फर्किएँ । कारण यो थियो कि, मेरा परिवारका साथै मेरो सानो जातको कुकुर पनि पछि लाग्दै गएको थियो । मेरो सानो कुकुरलाई ङ्यारङुर गर्न थाल्दा झण्झट हुन थाल्यो ।मैले सुन्ने गरेको थिएँ कि ठूलो भुइँचालोको बखत कुकुरहरूको पनि आनीबानी बदलिन्छ । तर, होइन रहेछ । कुकुरहरूलाई स्वभाव फेर्न गाह्रो हुँदो रहेछ । महाभूकम्प अर्थात् ठूलो कम्पनलाई क्रस गर्ने भूकम्प नहुने भूगर्भविद्हरूको दावी स्मरण गर्दै र मेरो छतको पर्खालमा रहेका गमलाहरू नखसेको र जस्ताको तस्तै रहेको देखेपछि म आत्म विश्वासका साथ सबै दिन महाभूकम्पपछि पनि मेरो सद्दे घरको एकतलामाथि रहेको कोठामै सुतें ।
मान्छेहरू भन्दछन्, यो महाभूकम्पले ठूलो धनजन, चौपायालगायत भौतिक क्षति गरेको मात्र होइन, यसले आम मानिसको मनस्थितिनै खल्बलाई दिएको छ । महाभूकम्पको प्राकृतिक विपत्तिले हाम्रो जस्तो गरीब देशको आर्थिक विकासलाई पनि धेरै पर धकेली दिएको छ । अहिलेकै प्रारंभिक अनुमानमा नेपाल राज्यका दशलाख विद्यार्थीहरूको पढाइमा प्रतिकूल असर पर्नेछ । अहिले सबै पीडितहरू, गाँस, वास, शारीरिक, मानसिक उपचार खोज्नमै चिन्तित छन् । वर्षायामले घेर्दै ल्याएको छ, ओत लाग्ने कहाँ हो ? ठेगान छैन । लोकतन्त्र, गणतन्त्र जे नाम दिएपनि जनताले आफ्ना जनप्रतिनिधि नपाएको १५ वर्ष भइसक्यो । दलका टाउकेहरूलाई स्थानीय निर्वाचन बारे कुनै सरोकार छैन । जनताबाट स्थानीय निर्वाचन र सर्वदलीय सरकारको माग उठिसकेको छ । हेरौं भविष्यमा के के कुरा उठ्दै जाने हुन् र जनताले के के माग गर्दै जाने हुन् ? अनि गणतन्त्रका मठाधीशहरूको श्रीपेच कता पुग्ने हो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment