हामी हीराको बोरामाथि बसेर भीख मागिराखेका छौं – डा. शास्त्रदत्त पन्त

(महाभूकम्पको महाविपत्तिले मुलुकलाई तहसनहस पारेको छ । यस्तोमा दैनिकीलाई सामान्यीकरण गर्न मुस्किल पर्ने देखिएको छ । तर, त्यसको प्रयास जारी छ । महाविपत्तिपछि उद्धार राहतको प्रश्न त टड्कारो बनेको छ नै त्यसभन्दा टड्कारो बनेको छ अबको भौतिक पूर्वाधारको पुन: निर्माण । व्यवस्थित बस्तीबारे धेरैपल्ट यसअघि नै अध्ययन भएको छ । त्यो अध्ययन गर्नेमा डा. शास्त्रदत्त पन्त पनि एक हुनुहुन्छ । अबको चुनौतीबारे डा. पन्तसंग  गरेको कुराकानीको मुख्य अंश
)
० महाविपत्तिपछि अब हामी कसरी सहजै वस्तीहरू निर्माण गर्न सक्छौं ?
–महाविपत्ति यो एकपटक अहिलेमात्र आएको हैन नेपालमा । ८० वर्ष पहिले पनि आएको हो, ठूलो भूकम्पको हिसाबले । तर, हरेक वर्ष आउने समस्या भनेको ‘वाटर इन्ड्युस्ड डिजास्टर’ अर्थात् जल प्रकोप हो । यसले हरेक वर्ष मानिसलाई सताइराख्छ । सत्तामा बस्नेहरू संवेदनशील भएर यसको ब्यवस्थापन गर्न र समाधान खोज्न सकिरहेका छैनन् । प्राकृतिक प्रकोप आउदा नोक्सान जनधनको नोक्सान हुन नपाउने गरी राज्यले व्यवस्थित बसोबासको प्रवन्ध गर्न सक्यो वा सकेको भए, कुनै पनि प्रकोपले यति धेरै मान्छे मर्नुपर्ने अवस्था हुने थिएन । यहाँ घरवारविहीन, रोजगारविहीन, शिक्षाविहीन हुनुपर्ने प्रमुख कारण भनेको अहिलेको अवस्था र अव्यस्थित वस्तीको कारण हो ।
० अनि राज्यले अहिलेसम्म केही पनि नगरी बसेको जस्तो लागेको छ हो ?
–अहिलेसम्म पर्यत्न नभएका होइनन् यसको समाधानका लागि । तर, हरेक क्षेत्रमा कि त पैसाको खेल छ कि त स्वार्थको खेल छ । स्वस्थ राजनीति र राष्ट्रिय नीतिको अभावले यो दुर्गति नेपाली जनताले भोग्नु परिराखेको छ । नीति दीर्घकालीन, अल्पकालीन र मध्यकालीन गरी तीन प्रकारको हुन्छन् । वैज्ञानिक र व्यवस्थित वस्ती भनेको दीगो नीति हो । अल्पकालीन थोरैमात्र हुन्छ यसमा । जुन सरकार आए पनि त्यही नीतिमा चल्नुपर्ने नियम जबसम्म बन्दैन तबसम्म समस्याको समाधान हुँदैन ।
० भूकम्पपछि पुन: निर्माणलाई जोड दिइरहेको सन्दर्भमा ध्यान दिनुपर्ने मुख्य विषय के ठान्नु हुन्छ ?
–अहिले मुख्य ध्यान दिनुपर्ने विषयहरूमध्ये तत्काल र अल्पकालीन र दीर्घकालीन व्यवस्थित वस्ती बसाउने कुरामा सत्तासीन दलहरूले केही केही कुरा उठाएका छन् । राष्ट्रिय योजना आयोगले पनि उठाएको छ । व्यवस्थित वस्ती भनेको नगर होस् वा गाउँमा बाटो यस्तो होस् जहाँ आगो लाग्यो भने वारुण यन्त्र, एम्बुलेन्स जान सक्ने होस् । अर्थात् आवश्यकताहरू पूरा गर्नेगरी संरचनाको निर्माण गर्नुपर्‍यो । १२ जनाको विज्ञ टिमले स्वास्थ्य, शिक्षा लगायतका सबै कुरा समेटेर कम्तीमा ५० देखि बढीमा एक हजार घरसम्म समेटेर पहाडमा वस्ती बसाउन सकिन्छ । मधेशमा त्योभन्दा बढी र भित्री मधेशमा अझ बढी घर समेटेर वस्ती बसाउन सकिन्छ । यहाँ वस्तीको कुरो त उठाइएको छ, तर त्यो मान्छेले वस्तीभित्र बस्दा गाईबस्तु र खेतीपाती टाढा हुन सक्छ भन्ने ख्याल दिइएको छैन । नेपालमा जीविकोपार्जनको खेती बढी हुने हो फार्मिङ्ग भन्दा पनि । तसर्थ वस्ती व्यवस्थापन गरेर खेतीलाई चक्लाबन्दी गर्नु जरुरी छ । चक्लाबन्दी भन्या चाहिं एउटा मान्छेको दश ठाउँमा खेती छ भने एक ठाउँमा ल्याइदिने । र, घरबाट उसको खेतीलाई नजिक पारिदिने काम गर्नुपर्छ ।
० यो अलि बढी वृहत् भयो तत्कालका लागि कसैले घरटहरा बनाइदिने जस्ता कुरा गरिरहेका छन् । यसरी जाँदा के होला त ?
–यो एकदम नकारात्मक धारणा हो । यसले नकारात्मक असर पार्छ । भक्तपुर बनाइदिने जर्मनीका कुरा पनि देखेका छौं । कयौंले कयौं बनाइराख्या छन् । मधेशमा घर नभएकालाई सयौं घर पनि बनाइदिएका छन् । त्यो रानजीतिक प्रचारबाजीको विषयमात्र बन्छ । त्यसबाट जनताले वास्तविक राहत पाउँदैनन् । त्यसका लागि त नेपालीले, नेपालका लागि नेपालबाटै बनाउनु पर्छ । त्यो बनाउनलाई ठूलो खर्च चाहिंदैन । मेरो योजना अनुसार त विदेशी पैसा नै चाहिंदैन ।
० अनि कुन स्रोतबाट कसरी बनाउने त ?
–नेपालकै स्रोत साधनबाट बनाउन सकिन्छ । राज्यले पनि त्यतिधेरै लगानी गर्नु पर्दैन । खाली कानूनमा केही संशोधन गर्नुपर्छ । पहिलो कुरो त भू–प्रयोजन नक्सा तयार हुनुपर्छ । अहिले भइराख्या नक्सालाई अलिकति परिमार्जन गरेर यो तयार गर्न सकिन्छ । यो नक्सा बनेपछि कति वन हो, कति खेतीयोग्य जमीन हो सबै स्पष्ट भइसक्छ । अनि कहाँ फलफूल खेतीसमेत गर्न मिल्छ भनेर पनि छुट्टाउने हो भने नेपालको सत्प्रतिशत जमीन उपयोगमा आउँछ । जस्तो कि हाम्रो देशको २३.५ प्रतिशत भूभाग हिउँले ढाकेको छ । हिमाली क्षेत्र छ । त्यसलाई पनि पर्यटनसंग जोडेर काम गर्न सकिन्छ ।
० भूकम्पले सिन्धुपाल्चोक, काभ्रे, गोरखा, नुवाकोट लगायतको अवस्था हेर्ने हो भने उच्च ठाउँमा घर बनाउँदा झनै बढी क्षति पुगेको छ । कस्तो ठाउँमा घर बनाउँदा क्षति कम हुन्छ भन्ने सुत्र के हो त ?
–पहिले सुरक्षित ठाउँ कुन हो त्यो पत्ता लगाउन सक्या छैन । जहाँ पायो त्यहाँ घर बन्या छन् । दोस्रो कुरा घर जसले जस्तो मन लाग्यो त्यस्तै बनाएको छ । सुरक्षित घर कसरी बन्छ भन्ने नीति न सरकारले लागू गर्न सकेको छ न त जनतालाई नै थाहा छ । ग्रामीण भेगमा दुईतल्ले भन्दा ठूलो घर बनाउन पर्दैन । हुँदैन पनि । भूकम्पबाट र बाढी पहिरोबाट सुरक्षित घर बनाउन सकिन्छ । त्यो घरलाई विभिन्न मोडल राखेर पर्यटकीय आकर्षणको केन्द्रबिन्दुको रुपमा पनि बनाउन सकिन्छ । ती नेपाली मौलिकपन झल्किने कलाका, नेपाली सिर्जनशीलका हुनुपर्छ । सुरक्षाका दृष्टिले पनि त्यो उपयोगी हुन्छ ।
वैज्ञानिक र व्यवस्थित वस्ती भयो भने मुलुकमा सदाका लागि सुकुम्बासी समस्या पनि समाधान हुदै जान्छ । सबै खाले प्रकोपबाट जोगिन वा भनौ कम क्षति ब्यहोर्न पर्ने हुन सक्छ । २०४२ सालको नीति अनुसार नगरेकाले सिन्धुपाल्चोकको जुरेमा नदी थुनिएर त्यतिधेरै मानिसको ज्यान गयो । नदीको जति चौडाइ छ त्यसको दुई गुणा दायाँपट्टी र दुई गुणा बायाँपट्टी रुखमात्र रोप्ने र वन खेतीमात्र गर्ने नीति तय भएको थियो । नियम उल्लंघन गरेपछि त्यस्तो महाविपत्तिले निरन्तरता पाइराख्छ ।
० यतिधेरै अव्यवस्थित वसोवासलाई चाहेर पनि व्यवस्थित बनाउन कठीन छैन र ?
कठीन छैन । दृढ संकल्प भएपछि गर्न सकिन्छ । सरकारदेखि कर्मचारीसम्मले निहीत स्वार्थ त्यागेर यो देश कसरी बनाउन सकिन्छ भनेर लाग्ने हो भने सम्भव छ । मेरो मूल्यांकनमा भंसार, आयकर लाग्ने ठाउँमा घुस खाने मान्छेले घुसै खाइदिएनन्. भने जसरी घुस खाएर उसले आफ्नो परिवारलाई सम्पन्न बनाउँछ नखाँदा त्यत्तिकै सम्पन्न मुलुकका सबै जनतालाई बनाउँछ । मैले यतिसम्म गहिरिएर मूल्यांकन गरेको छु । तसर्थ देशको मायाँ हरेक ब्यवसायी, क्षेत्र, वर्गका नेपालीमा हुनुपर्‍यो ।
० यो विपत्तिलाई राष्ट्र पुन:निर्माणको अवसरका रुपमा लिन सकिन्छ सकिन्न त ?
लिन सकिन्छ । राम्रो अवसरका रुपमा लिन सकिन्छ । यो बेलामा राज्यले, राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालयले बुद्धि पुर्‍याउने हो भने नव निर्माणका लागि राम्रो अवसर हो ।
० अहिले त एउटा सामान्य अनि गरीब नागिरकको बास भत्केको छ । उसले अब के सोच्ने ?
–अब यो एकजना व्यक्तिको मात्र समस्या र कुरा त भएन । यो राज्यले तत्काल नै युद्धस्तरमा निर्माणको कार्य थालिहाल्नुपर्‍यो । राज्यको दृढ संकल्प हुनुपर्‍यो । त्यो संकल्पभित्र सर्वाङ्गीणविकासको कुरा ल्याउनु पर्‍यो । सुरक्षित ठाउँमा घर बनाइदिएर मात्र हुदैन । त्यसले खेती गरेर खाने जग्गाको वातावरण बनाइदिनु पर्‍यो । उसका छोराछोरी पढ्नका लागि नजिकमा स्कूलको व्यवस्था गरिदिनुपर्‍यो । औषधिमूलो गर्ने व्यवस्था हुनुपर्‍यो । शुद्ध पानी खाने व्यवस्था हुनुपर्‍यो । सर्वाङ्गीण भनेको एउटै प्रोजेक्टबाट मान्छेको जीवनमा चाहिने सबै कुराको व्यवस्था गर्नु हो । ब्लक फार्मिङ्गदेखि प्लट फार्मिङ्गसम्मको व्यवस्था भयो भने नेपालमा एकजना पनि सुकुम्वासी हुनु पर्दैन, एकजना पनि अशिक्षित हुँदैन, एकजना पनि वेरोजगार हुँदैन । त्यसको पहिलो सर्त व्यवस्थित वस्ती नै हो । यदिन सोचेजस्तो भयो भने १४ वर्षभित्र यो लागु गर्न सकिन्छ । अहिले लगभग ६६ लाख मानिस वैदेशिक रोजगारीमा छन् वैध र अवैध गरी । ती सबैलाई नेपालमै पूर्ण रोजगारी दिएर विदेशी थप त्यत्ति नै मानिसलाई हामीले रोजगारी दिन सक्छौं । प्राकृतिक स्रोत साधन यति धेरै छ हाम्रो देशमा कि अहिलेसम्म सबै खेर गइरहेको छ । हामी हीराको बोरामाथि बसेर भीख मागिराखेका छौं । अहिले कुनै मित्र देशहरूबाट एक दुई दिन राहत ल्याउँदैमा यो दीर्घकालीन समाधानको ओखति हुन सक्दैन । केवल उनीहरूको दुष्टिकोणमात्र आइराखेको हुन्छ । उनीहरूको राजनीतिक जासुसी गर्ने प्रवृत्ति बढ्छ । चीन र भारतको तथा अमेरिका र चीनको राजनीतिक खेल हुन्छ । त्यस्तो कुरालाई नेपालमा छिर्न र चलखेल गर्न दिनुहुन्न । हामी नेपाली नै सक्षम छौं भन्ने उदाहरण बन्न सक्नु पर्छ । तर त्यसको परिचालन नै गलत छ ।
० यो त दुई जना बसेर गरेको सहज कुरा भयो । जसका परिवार गुमेका छन् उनीहरूका लागि तत्काल केही न केही त गर्नैपर्छ । हैन र ?
–केही न केही त गर्नैपर्छ नि । घरै बनाइदिने भन्या छु नि मैले त । त्यो त तुरुन्तै गर्न सकिन्छ ।
० केही ठाउँमा त आफैले पनि वर्षायाम आउन थाल्यो भनेर ओत निर्माण गर्ने क्रम पनि त सुरु भइसकेको नि ?
–हो, सुरु भैसक्यो । तत्कालका लागि एनआरएनले १० हजार घर एकै ठाउँमा बस्न मिल्ने गरी बनाइदिन्छु भनेको छ । त्यो अस्थायी घर हो । अहिले ओत लाग्ने टेन्टको माग बढेको छ । तत्काल टेन्टमा रहन पनि सकिन्छ । टेन्ट आयात गर्नुभन्दा नेपालकै कर्कट पातालाई प्रयोग गरियो भने पनि राम्रो बस्ने ठाउँ बनाउन सकिन्छ । पहिले अस्थायी वसोवासको व्यवस्था गरिदिने र ११ जिल्लाका जनतालाई कहाँ व्यवस्थित गर्न सकिन्छ भनी अध्ययन अनुसन्धान गरेर वसोवासको व्यवस्था गर्नुपर्छ ।
साभार:weeklynepal.com
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment