म्याग्दीमा माछापालन विस्तार

म्याग्दी जेठ २ गते । पहाडी जिल्ला म्याग्दीमा माछापालन व्यवसाय विस्तार हुन थालेको छ । स्थानीय बजारमा माछाको माग र खपतसँगै कृषकहरुले व्यवसायीक रुपमा माछापालन गर्ने क्रम बढेको हो ।
थोरै जमिनमा, स्थानीय स्रोत साधन र श्रमको उपयोग गरि छोटो समयमा छिटो आम्दानी गर्न सकिने भएकाले कृषकको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
उपयोग विहीन पोखरीहरुको संरक्षण तथा सदुपयोग र माछाको आयात घटाउने उद्देश्यले माछापालन व्यवसाय विस्तार गर्न प्राथमिकता दिएको कार्यालयका प्राबिधिक सहायक रमेश खड्काले बताउनुभयो । माछापालन विस्तारका लागि यस वर्ष २४ जना कृषकहरुलाई माछा पोखरी निर्माणका लागि चार लाख रुपैया अनुदान दिइएको छ ।
युवा लक्षित माछापालन कार्यक्रम अन्तरगत चार जनालाई ५० हजार रुपैयाका दरले दुई लाख र मध्यपहाडी मत्स्यपालन क्षेत्र विस्तार आयोजना अन्तरगत २० जनालाई १० हजार रुपैयाका दरले दुई लाख रुपैया अनुदान दिइएको हो ।
यसका साथै ढुवानी अनुदानमा यस वर्ष ६० हजार भुरा वितरण गर्ने लक्ष्य रहेकोमा हालसम्म कमन कार्प र ग्रास कार्प जातका ४३ हजार ५ सय भुरा वितरण गरिसकिएको छ । मत्स्य अनुसन्धान केन्द्रबाट ल्याइने प्रतिभुराका लागि कृषकले पचास पैसा तिर्नुपर्नेछ । बैशाख महिनामा १६ जना कृषकलाई १३ हजार ५ सय ५० भुरा वितरण गरिएको थियो ।
शुक्रबार ३२ जनालाई २६ हजार ५सय ग्रास कार्प र तीन हजार ४ सय ग्रास कार्प जातका माछाको भुरा वितरण गरिएको हो । थप एक चरणमा भुरा वितरण गर्ने कार्यक्रम छ । गत वर्ष म्याग्दीमा २२ रोपनी जमिनमा माछापालन व्यवसाय विस्तार गरिएको थियो । म्याग्दीमा मा ६० वटाको हाराहारीमा माछा पोखरी रहेका छन् ।
भुरुङतातोपानी ठूलोबगरका कृषक बुद्धी पुनले पछिल्लो समय माछा खोज्दै ग्राहक घरमै आउने थालेपछि पेशालाई व्यवसायीक बनाएर माछापालन विस्तार गरेको बताउनुभयो । प्रतिकीलो माछा पाँच सय रुपैयाका दरले बिक्री हुने गरेको छ । हाल म्याग्दीमा नवलपरासी, जनकपुर र रुपन्देहीबाट आयात गरिएका माछा उपभोग हुने गरेको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment