नेपालको विकासमा लाहुरेको योगदान

काङमाङ नरेश राई
राणा शासनकै समयमा लाहुरेहरुले गाउँ-गाउँमा स्कूल स्थापना गरेका थिए । जुन समयमा नेपालीहरुलाई स्कुलमा पढ्न पाउने अधिकार थिएन ।
दोस्रो महायुद्वको समाप्तिपछि १९४७ मा भारत स्वतन्त्र भयो । बेलायतले भारत छाडेर जाने समयमा गोर्खाहरुको पारिश्रमिकबाट कटौती गरेर रारिएको पैसा फिर्ता दिने निर्णय भयो । कटौती गरेर राखेको पैसा गोरखालीहरुले के गर्छन् ? धेरैजसो अवकाश भैसकेका छन् ।
काङमाङ नरेश राई
काङमाङ नरेश राई
नेपालका तत्कालीन प्रधान सेनापतिसँग सम्पर्क गरी गोर्खालीहरुको जम्मा भएको रकम अवकाश पाएका गोर्खालीहरुलाई फिर्ता दिनु भनी इण्डियाका तत्कालीन प्रधानसेनापतिलाई छाडेका थियो बेलायत सरकारले ।
इण्डियाका तत्कालीन प्रधानसेनापतिले नेपालका तत्कालीन प्रधानसेनापति बबरसमशेरलाई सम्पर्क गरी रकम फिर्ता दिए ।
बबर समशेरले भूपूगोर्खा अफिसरहरुलाई वि.सं. २००५ साल कार्तिक महिनामा काठमाण्डौ बोलाई पुससम्म बैठक गरे ।
सो बैठकमा बबरसमशेरले सोधेका थिए, ‘यो पैसा तिमीहरुले के गर्छौ’ ? उक्त बैठकमा भूपू लाहुरेहरुले लामो छलफल गरे । आफूले पाउने रकमबाट गाउँ गाउँमा शिक्षाका लागि स्कूलको स्थापना गर्ने र औषधालय/स्वास्थ चौकीको निर्माण गर्ने निर्णय सुनाए ।
को-को थिए बैठकमा ?
बबर समशेरले बोलाएको बैठकमा पूर्वी नेपालवाट भूपू क्याप्टेन कमानसिंह, सरदार बहादुर लिम्बु, चैनपुरबाट जगतबहादुर याख्खा, भोजपुर निवासी सरदार बहादुर हर्कराज राई (उनले पहिलो विश्वयुद्वमा सरदार बहादुर पदक पाएका थिए) सरदार बहादुर मानसेर राई लगायतको उपस्थिति थियो ।
नेपालको पश्चिमी भेगबाट पनि धेरै सहभागी भएका थिए । जसमा छैठौं गोर्खा राईफलका हनेरी क्याप्टेन रडकसिंह गुरुङ्ग, चारौं गोर्खा राइफलका हनेरी क्याप्टेन नरबहादुर गुरुङ्ग, ( उनी पछि मन्त्री पनि भएका थिए ) आदि भूपू लाहुरेहरु उपस्थित भएका थिए ।
सो बैठकपछि नेपालका धेरै जिल्लामा डिस्टि्रक सोल्जर बोर्डको स्थापना गरियो । नेपाल सरकारले हरेक डिस्ट्रिक सोल्जर बोर्डमा एक/एकजना कर्मचारी खटाएको थियो । त्यस बोर्डको अध्यक्ष र उपाध्यक्षमा भु.पु. लाहुरेहरुलाई नियुक्ति गरिन्थ्यो ।
यस्तो निर्णयपछि गाउँ-गाउँमा एक-एकजना प्रतिनिधि तोकी स्कूलहरुको स्थापना गरियो । यसैक्रममा भोजपुरको तिम्मा गाविसमा चहकमान राईलाई खटाइएको थियो । भोजपुरकै सानो दुम्मामा भूपू सुबेदार जीतवीर राई खटिएका थिए । यसरी भूपू लाहुरेहरुको पसीना, रगत र जीवनसँग साटेको पैसाले शिक्षामा निकै ठूलो लगानी भयो ।
राणा काल वा पञ्चायत कालमा मात्रै होइन, अहिले पनि सेवारत लाहरेुहरुले एक दिनको तलब काटेर दिने गरेका छन् । त्यो रकमबाट ब्रिटिस वेयलफेयर सोसाइटीमार्फत गाउँहरुमा स्कूल, हेल्थपोष्टहरुको स्थापना भइरहेका छन् । पिउने पानी घर-घरमा पुर्‍याइरहेका छन् ।
रेडियोको कथा
लाहुरेहरु स्वदेश फर्कंदा रेडियो लिएर आउँथे, जसले गाउँलाई सिंहदरबारसँग जोड्न मद्दत गर्‍यो । भोजपुरमा रेडियो स्टुडियोको स्थापना भोजपुरका भु.पु लाहुरे नारदमुनि थुलुङ्गको नेतृवमा भएको थियो । जुन समयमा अप्रेटर अप्रेटर भन्ने गरिन्थो । उहाँको नाम कुबेरमान राई हो । उहाँ रेडियो अपरेट गर्ने काम गर्नुहुन्थ्यो । उहाँ पनि भुपु लाहुरे हुनुहुन्थ्यो । पछि उहाँका छोराहरु पनि लाहुरमा भर्ती भए । थुलुङका एक छोरा कृष्णबहादुर राई गोर्खा आन्दोलनमा लागिरहेका छन् ।
भोजपुरमा स्थापना गरिएको रेडियो स्टुडियोलाई नेपाली कांग्रेसले बिराटनगरमा सार्‍यो । अहिले हाजिरी जवाफ प्रतियोगिताहरुमा सोध्ने गरिन्छ नेपालमा सबैभन्दा पहिले रेडियो स्टुडियोको स्थापना कहाँ भएको हो ? उत्तर आउँछ-बिराटनगरमा । नेपालमा सबैभन्दा पहिले रेडियो स्थापना गर्ने को हुन् ? उत्तर आउँछ- तारिणीप्रसाद कोइराला । अनि ठीक भनी ताली बजाइन्छ ।
प्रजातन्त्र प्राप्तिमा लाहुरेको योगदान
राणा शासन विरुद्व २००७ सालमा भोजपुर जिल्लाबाट भूपू लाहुरेहरु नारदमुनि थुलुङ्ग, रामप्रसाद राई आदिले हतियार उठाएका थिए । उनीहरुले भोजपुर, ओखलढुङ्गा, संखुवासभा, चरीकोट, धनकुटा आदि ठाउँबाट राणाहरुलाई परास्त गरेका थिए ।
त्यतिमात्र नभएर वीरगञ्ज, बिराटनगर जस्ता ठाउँहरुमा भोजपुरबाट किराती सेनाहरु पठाइ राणा शासन अन्त्य गर्न आदिवासी लाहुरेहरुले पहिलो भूमिका निर्वाह गरेका थिए ।
Queen-with-Gurkha-Army
समाज परिवर्तनमा भूमिका
लाहुरेहरु नेपाल फर्केपछि कतिले कम्पाण्डरको काम गरे । बच्चा जन्माउन नसकी कयौं छोरीचेलीहरुको अकालमा ज्यान जान्थ्यो । गाउँघरमा धामी झाँक्री भन्दा अर्को कुनै उपाय थिएन । पल्टन घरमा सिकेको सीपलाई सदुपयोग गर्दै लाहुरेहरुले छोरीचेली र नानीहरुको ज्यान बचाए ।
खोला खोल्सी र घरको नजिक दिशा, पिसाब गर्नु हुँदैन, शौचालयमा गर्नुपर्छ भनी उनीहरुले सिकाए । अनुशासित बन्नुपर्छ भन्ने सिकाए । यस्ता धेरै महत्वपूर्ण कामहरु गरेका छन् आदिवासी लाहुरेहरुले ।
साहित्य संगीतमा योगदान
लाहुरेहरुले नेपाली साहित्य, संगीत र सञ्चारको क्षेत्रमा पनि उति नै उल्लेखनीय योग्दान दिएका छन् । नेपाली भाषामा पहिलो फोनइन कार्यक्रम चलाउने भु.पु लाहुरे किशोर गुरुङ्ग हुन् । पहिलो नेपाली गायक मास्टर मित्रसेन थापा मगर हुन् । नेपाली पप गायनको प्रवर्तक नोरदेन तेन्जिङ्ग हुन् ।
त्यो युवाशक्ति बाँचेको भए….
पहिलो विश्वयुद्वका समयमा नेपालको जनसंख्या जम्मा ५६ लाख थियो । २ लाखभन्दा धेरै आदिवासी लाहुरेहरु वेलायती सेनामा कार्यरत थिए । ५५ हजारभन्दा धेरै गोर्खाली सेनाहरु युद्वभुमिमा परिचालित भएका थिए ।
दोस्रो विश्वयुद्वमा नेपालको जम्मा जनसंख्या ६० लाखको हाराहारीमा थियो । २ लाख ५० हजारभन्दा धेरै गोर्खालीहरु बेलायती सेनामा कार्यरत थिए । आदिवासीका हजारौं हजार युवा पुस्ताले बेलायतको साम्राज्य विस्तार गर्ने क्रममा आफ्नो ज्यान सर्मपण गरेका छन् । पहिलो विश्वयुद्व, दोस्रो विश्व युद्व र व्रोनाई युद्वमा मात्रै ६० हजार भन्दा धेरैले ज्यान गुमाएको अनुमान गर्न सकिन्छ । हजारौको संख्यामा अंगभंग भए । युद्वमा हराएका आदिवासी लाहुरेहरु बर्मा, इटली, फिजी, वेल्जियम, थाइल्याण्ड, इण्डिया जस्ता देशहरुमा विस्थापित हुन पुगे ।
बाध्यतामा परेर पनि उनीहरुले डरलाग्दो इतिहास निर्माण गर्ने क्रममा विश्वको सर्वोच्च पदक भिक्टोरिया क्रस १३ जना आदिवासी लाहुरेहरुले पाउन सफल भए ।
युद्धमा हजारौं संख्याले वीरगति पाए, त्यतिकै संख्यामा हराए र विभिन्न देशहरुमा विस्थपित भए । उनीहरुको संख्यालाई गणितीय हिसावमा उतार्ने हो भने झण्डै एक करोडभन्दा धेरै हुन्छ नेपाली माटोमा ।
ती युवाहरु युद्वमा नमरेका, नहराएका भए तिनीहरुका सन्तानहरु यतिबेला कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबै ठाउँमा हुन्थे । नेतादेखि मन्त्रीसम्म, पियनदेखि सचिवसम्म, स्कूलमा घण्टी बजाउनेदेखि प्रोफेसरसम्म हुन्थे ।
आदिवासी जनजातिका छोरामात्रै किन ?
आदिवासी जनजातिका छोराहरु मात्र अर्को देशको सेनामा पठाइनुको अर्थ के ? यो लामो समयको अन्तरालपछि आदिवासी जनजातिलाई हरेक क्षेत्रमा पछाडि पार्नका लागि बुनिएको षड्यन्त्र थियो भन्ने अर्थ अहिले आशंका गर्न सकिने धेरै स्रोतहरु छन् ।
नेपालीहरु विदेशिने परम्पराको सायद जेठो इतिहास हुन सक्छ लाहोर शब्द र लाहुरे बनेका आदिवासीहरु । यो जेठो इतिहास आफैं जन्मिएको पक्कै हैन । यो इतिहासलाई राज्य सत्ताले जन्माएको हो । आदिवासी जनजातिका लक्का जवानहरु भर्ती भई वेलायतको साम्राज्य विस्तार गरे र गर्दै आइरहेका छन् ।
राज्यसत्ताबाट तिनीहरुलाई भर्तीमा पठाइन्छ र तिनीहरुलाई भर्ती पठाएवापत राज्यले रोयल्टी पाउँछन् भन्नेसम्म सुनियो । यसको बिषयमा राज्य अनुत्तरित छ । तर, तिनीहरुकै बारेमा राज्यले अनेक प्रकारका नकारात्मक प्रचारवाजीहरु गरिनु दुःखको विषय हो ।
किन आदिवासी जनजातिका छोराहरु मात्रै त्योबेलामा भर्ती हुन्थे ? किन उनीहरुलाई मात्र राणाहरुले गाउँगाउँमा हुकुमी उर्दी लगाउँथे ? यो सबैभन्दा गम्भीर विषय र प्रश्न पनि हो ।
पहिले बाध्यता, अहिले संस्कार
पहिले-पहिले पूर्खाहरु बाध्यताले भर्ती भए । त्यसपछि भर्ती लाग्ने एउटा संस्कार नै बन्यो । त्यसपछि वेलायती सेनामा आफ्नै स्वेच्छाले भर्ती जाने संस्कार बन्यो । एउटा राम्रो आय आर्जन गर्ने ठाउँ बन्यो गोर्खा भर्ती । अहिले आएर नेपालीहरुका लागि सबैभन्दा राम्रो पैसा कमाउने र सरल जीवन जीउने माध्यम बनेको छ लाहुरे घर ।
गोरा सिपाही बराबर मासिक तलब सुविधा पाउन थालेपछि गैरआदिवासी, गैरजनजाति (क्षेत्रीबाहुन) हरु पनि धमाधम भर्ती लाग्ने संस्कार बनिरहेको छ । तर, आदिवासी लाहुरेहरुचाँहि नेपालमाअनागरिक जस्तो भएका छन् ।
(भोजपुरको दिल्पा घर भई हाल बेलायतमा रहेका नरेश पूर्वगोरखा सैनिक हुन् )
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment