जाजरकोटमा रुघाखोकी र स्वाइनफ्लु, दिनहुँ सयौं बिरामी

जाजरकोट, वैशाख ३ - दुई सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुबाट बिरामी हुनेहरूको संख्या दिनहुँ बढिरहेको छ । टालेगाउँ-७ का दलबहादुर शाहीको बुधबार मृत्यु भएको छ । उनीसहित रुघाखोकी र स्वाइन फ्लुको संक्रमणले मृत्यु भएकाको संख्या १७ पुगेको छ । प्रभावित क्षेत्रहरूमा अझै पनि पर्याप्त संख्यामा स्वास्थ्यकर्मी पुग्न सकेका छ्रैनन् ।
पैंक, टालेगाउँ, अर्छानी, सक्ला, नायकबाडा, रोकाय गाउँ, लहँ, मजकोट, कोर्ताङलगायत गाविसमा दुई हजारभन्दा बढी बिरामी छन् । टालेगाउँको स्वास्थ्य चौकीमा बुधबार मात्रै एक सयभन्दा बढी बिरामी आएको स्थानीय शिक्षक जनकबहादुर सिंहले बताए । पैंकमा पनि उपचारका लागि आउनेको संख्या बढेको स्थानीय जितबहादुर रोकायले बताए । अरू गाउँको पनि हालत उस्तै छ ।
पैंकका बिरामीले बुधबार दिनभर उपचार नपाएको गुनासो गरेका छन् । स्वास्थ्य चौकीका अहेब रामकृष्ण गिरी आफैं बिरामी परेर सदरमुकाम गएपछि उपचार प्रभावित भएको हो । उपचारमा खटिएका डा. दीपक पुनको टोली पनि फर्किसकेको छ ।
'स्वास्थ्यकर्मीसमेत बिरामी परेर सदरमुकाम लगिएको छ । अरू बिरामीको झन् बेहाल छ,' रोकायले भने । अहेब गिरीलाई थप उपचारका लागि घोडा चढाएर जिल्ला अस्पताल ल्याइएको छ । पैंकतर्फ बुधबार डा. विभान्त साहको टोली खटाइएको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. राजेन्द्र पन्तले बताए ।
त्यस्तै पैंक-५ की ५० वर्षीया सुशीला रोकायलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । पैंक स्वास्थ्य चौकीमा तीन दिनसम्मको उपचारले सञ्चो नभएपछि जिल्ला अस्पताल ल्याइएको उनका ज्वाइँ प्रसिद्धजंग शाहले बताए । स्वाइन फ्लुको संक्रमण फैलिएको प्रमाणित भएपछि जिल्लामा त्रास फैलिएको छ । स्थानीयले बुधबारदेखि मास्क लगाएर मात्र घरबाहिर हिँडडुल गर्न थालेका छन् । मौसमी रुघाखोकीका बिरामी यत्रतत्र भए पनि जिल्लाका विभिन्न नाकामा आवतजावत गर्नेलाई जाँचको व्यवस्था मिल्ााइएको छैन । सर्वसाधारण खुला रूपमा आउने-जाने गरिरहेका छन् । अर्छानी गाविसमा गत चैत १८ मा देखा परेको उक्त रोग स्वास्थ्य निकायको लापरबाहीले जिल्लाभर फैलिएको स्थानीयको आरोप छ । त्यहाँ रोगका कारण एक किशोरीको मृत्यु भएको थियो भने झन्डै ५० जना बिरामी परेका थिए । रोजगारीका लागि भारत गएका स्थानीय फर्केपछि गाउँमा रोगको संक्रमण देखिएको शिक्षक सिंहले बताए ।
प्रतिकूल मौसमका कारण रोगको प्रकोप झन् बढेको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. पन्तले बताए । उमालेको पानी खाने, आराम गर्ने, चिसोबाट बच्ने, आवतजावतमा बन्द गर्ने, हात नमिलाउन, मास्क लगाउने, जथाभावी नथुक्ने, रोगको लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि आउनेलगायत सावधानी अपनाउन क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आहवान गरेको छ । जोखिममा रहेका बिरामीलाई 'ट्यामी फ्लु' औषधिको व्यवस्था गरिएको उनले बताए ।
जिल्लामा स्वाइन फ्लुको प्रकोप फैलिएर स्वास्थ्यकर्मीको अभाव छ । तर यहाँस्थित जिल्ला अस्पतालका चिकित्सक बोम बीसी भने मुगु जिल्लामा काजमा गएका छन् । उनी विगत एक महिनादेखि 'भ्यासेक्टोमी क्याम्प' सञ्चालन गर्न त्यहाँ पुगेका हुन् ।
व्यक्तिगत सुविधाका लागि मुगु रहेका डा. बीसीलाई फर्काउन पहल पनि भएको छैन । त्यस्तै, अर्का चिकित्सक पवन शाक्य पनि बिदामा छन् ।
अहिले जिल्लाका चार चिकित्सकमध्ये डा. साह र पुन मात्र कार्यरत छन् । महामारी प्रभावित क्षेत्रमा भने जिल्ला बाहिरबाट चिकित्सक ल्याएर उपचार गर्नुपरेको छ ।
टालेगाउँमा बिरामीको संख्या बढेपछि नेपाली सेनाका डा. प्रनय कार्कीलाई खटाइएको छ । सक्ला गाविसमा विश्व स्वास्थ्य संगठनका डा. गुणनिधि शर्मा उपचारमा संलग्न छन् । जिल्ल्ाा अस्पतालका डा. साह पैंक र पजारुमा पाटन अस्पतालका डा. प्रनिल प्रधान उपचारमा खटिएको अस्पतालले जनाएको छ ।
जिल्लाका चिकित्सक अपुग भएपछि रोग प्रभावित क्षेत्रमा थप चिकित्सहरूको व्यवस्था गरिएको क्षेत्रीय निर्देशक पन्तले बताए । चौरजहारी अस्पतालका डा. सुमन राईको नेतृत्वको टोली पनि टालेगाउँ गएको छ । वीर अस्पताल र नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको उनले जनाए । यता जिल्ला अस्पताल भने अहेबको भरमा सञ्चालन हुन थालेको छ । दुई डाक्टर काज तथा बिदामा रहेको र दुई जना प्रकोप प्रभावित क्षेत्रमा खटिएपछि अहेबको भरमा रहेको हो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment