‘सबैतिर बिजयी हुनुपरोस्, छोराबाट पराजयमै रहनुपरोस्’

बसुधा नेपाल पोखरेल
आमाबुबाको दसौं सन्तानका रुपमा मैले जन्म लिएकी रहिछु । मैले अलिकति बुझ्ने बेलासम्म दिदीहरु बिहा भएर आ-आफ्ना घरमा थिए । दाजुहरु आफ्नो स्कुलिङ सकेर उच्चशिक्षाका लागि देश विदेश हिँडिसकेका थिए । र, म करीब-करीब एक्लीे छोरीका रुपमा बुबाआमाका काखमा हुर्कें ।
mangalkumar-nepal-11
सम्झनामा आइरहने रौतहटका ती दिन
मलाई सम्झना भएका बेलादेखि बुबा स्कुलमा पढाउनुहुन्थ्यो । हाम्रो घर मेनरोडमा थियो । माथिको बराण्डामा एउटा खाट थियो, जहाँ बसेर बुबाका धेरै विद्यार्थीहरुले शिक्षा पाएको मैले देखेकी छु । तीमध्ये कति उच्च ओहोदामा पुगे, कति डाक्टर त कति इन्जिनियर बने, वहाँहरुको लेखाजोखा त मसँग छैन । तर, बेला बेलामा त्यस्ता मान्छेले बुबालाई देखेर शीर निहुराएर नमन गरेको मैले देखेकी छु ।
तराईको मेरो जन्म । मैले मेरा बुवा मंगलकुमार नेपाललाई रौतहट जिल्लाभरिकै शिक्षाको ज्योतिका रुपमा देखें । असाध्य सम्मान गर्थे र गर्छन् वहाँलाई रौतहटबासीले ।
सधैं अध्ययन अध्यापनमा तल्लीन । वहाँ अनवरत लेखिरहनुहुन्थ्यो, नेपाली भाषा, साहित्य, व्याकरण इत्यादिमा ।
एउटा सानो र होचो टेबल, एउटा बट्टा हुन्थ्यो जसमा बुबाका कलम, मसी, (मैले त बुवाको बाँसको कलम अनि मसीले चोपेर साहित्य लेखेको पनि धेरै देखेकी छु ) स्केल, टक्वारी हुन्थ्यो । थुप्रै खुला पानाहरुमा लेख्नुहुन्थ्यो अनि जनै वा बलिया धागाहरुले टक्वारीले घोप्दै सिलाएर प्लस्टिकका गाता लगाएर राख्नुहुन्थ्यो ।
असाध्य रहर वहाँलाई किताब प्रकाशन गर्न । तर, शायद  बाँचेका मध्ये ६ जना छोराछोरीको शिक्षा दीक्षा, बिहाबारी गर्नुपर्ने दायित्व एउटा सामान्य शिक्षकलाई गाह्रै कुरा हो, प्रकाशन खर्च जुटाउन ।
शायद त्यसैले होला, म सानी हुँदा बुबाले प्रकाशन गर्नुभएको कादम्बिनी काव्य कथादेखि बाहेक प्रकाशन गर्न सक्नु भएन । मध्यम वर्गीय परिवार, सरल जीवन यापन, सकारात्मक सोचाइ, कामप्रति अति लगनशील, धर्मप्रति पूर्ण आस्था ।
सबैलाई सधैं चाहे छोरा हुन् वा छोरी, सबैले समान शिक्षाको अवसर दिनुपर्छ भन्ने प्रगतिशील बिचार राख्नुहुने बुबाले कहिल्यै पनि यो ठूलो, यो सानो भनेर छुट्याएर हेर्नुभएन, र हामीलाई पनि त्यस्ता कुरा कहिल्यै दिमागमा हालिदिनुभएन ।
गर्मी महिनामा प्रायः सेतो कमिज अनि मर्दानी, जाडो महिनामा लबेदा सुरवाल अनि कालो कोट । सादा खाना । बिहान थोरै भात दाल र तरकारी, बेलुका दुईवटा रोटी, दूध अनि तरकारी । सधैंभरिको वहाँको शाकाहारी खाना । वहाँ जन्मजात नै शाकाहारी । तर, हामी छोराछोरीले माछामासु खाँदा पनि कहिल्यै नखाओ भनेर बन्देज पनि लगाउनु भएन ।
बुबाले करीब ४५ वर्ष प्राध्यापन पेशा गर्नुभयो । श्री जुद्ध व्यवसायिक माध्यमिक विद्यायालयको प्रधानाध्यपकदेखि रौतहट क्याम्पसको क्याम्पस चिफसम्म भएर काम गर्नुभयो ।
मेरा प्रेरणाका स्रोत
श्री जुद्ध स्कुलमा हुँदाखेरिदेखि नै त्यहाँ पढाउन सुरु गर्नुभएको थियो । उहाँले मटिहानी क्याम्पस भारतबाट व्याकरणाचार्य गर्नुभएको हो ।
Mangalkumar-nepalप्रसंग फेरि साहित्यकै । शायद म छ/सात कक्षामा पढ्थें । जिल्ला स्तरीय निबन्ध प्रतियोगिता थियो । तत्कालीन बडामहारानी ऐश्वर्य शाहको शुभजन्मोत्सवको उपलक्ष्यमा हाम्रो स्कुलमा नाटकको पनि कार्यक्रम थियो ।
मैले नाटक अनि निबन्ध प्रतियोगिता दुबैमा भाग लिएकी थिएँ ।  बुबाले एक दिन मलाई भन्नुभयो, नानी, निबन्ध प्रतियोगितामा राम्रो गर्नुपर्छ त्यतातिर ध्यान देउ । बुवाले मलाई कहिल्यै ‘तँ’ भन्नुभएन, सधैं तिमी भन्नुहुन्छ । मलाई  नाटक खेल्न पनि ठूलो रहर थियो, बुवाले त्यो रोक्नुहोला कि भन्ने डर थियो । तर, रोक्नुभएन मैले दुबैमा भाग लिएँ । निबन्ध प्रतियोगितामा जिल्लामा दोस्रो भएँ । नगद पुरस्कार पनि पाएकी थिएँ त्यसबेला ।
बुबाले मलाई सधैं कविता लेख्न पनि हौस्याइराख्ने । स्कुलबाट निस्केको कितावमा पनि त्योबेला कविता लेखेकी थिएँ ।
हाम्रो स्कुल श्री जुद्ध व्यवसायिक माध्यमिक विद्यालयको नव निर्मित भवन समुदघाटनको कार्यक्रम थियो । बुवाद्वारा रचित ‘गर्दछौं प्रमुदित स्वागत गान’ भन्ने शीर्षकको स्वागत गीत वहाँले आफैं हार्मोनियम बजाएर हामीलाई गाउन सिकाउनुभएको आवाज अझै पनि मेरो कानमा गुञ्जिरहन्छ ।
शायद बुवाको साहित्यिक प्रभाव होला, सानोमा म पनि खुब कविता लेख्थें । कति कविता प्रतियोगिताहरुमा मैले प्रथम पुरस्कार पनि पाएकी छु । केही प्रमाणपत्र मसँगै छन, केही कहाँ-कहाँ पुगे, मलाई नै सम्झना छैन । बुबाको सकारात्मक व्यवहारबाट म हुर्कें । सधैं लाग्थ्यो, बुबाको किताबहरु छाप्ने इच्छा कहिले पूरा होला ?
शिक्षा छोराछोरी दुबैले पाउनुपर्छ भन्ने कुरामा बुबा अत्यन्त चेतनशील मान्छे । वि.सं. २००० सालमा जन्मिनुभएकी बुवाकी जेठी छोरी, हामी सबैकी जेठी दिदीको त्यो जमानाको सामाजिक संस्कार अनुसार सानैमा बिहा भयो । तर, बुवाले आफ्नी छोरीलाई ढिलै भए पनि पढाएर नातिसँगै एसएलसी दिन लगाउनुभयो । सबैका लागि उदाहरणीय कार्य थियो त्योबेलामा ।
मंगलकुमार नेपालका छोराछोरी भनेपछि पढाइमा कसले जित्न सक्ने भन्थे सबैले । बडा गर्व लाग्थ्यो ।
आफुले दाजुदिदीहरु त्यो स्कुलमा पढेको नदेखे पनि वहाँहरुकी बहिनी भनेर सरहरु र अरुहरुले पनि माया गरेको देख्दा मन त्यसै पुलकित हुन्थ्यो । लाग्छ, त्यसैले म असाध्य पुल्पुलिएर हुर्कें । आमाबुवाकी एक्ली छोरीजस्ती ।
एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आउँदा बुबाले मलाई एउटै कुरा भन्नुभयो । नानी तिमी काठमाडौं पढ्न जादैछौ, एउटा कुरा सधैंभरि मनमा राखेर अगाडि बढ्नु, आफु कसकी छोरी हुँ, कुन खान्दान कि हुँ, यो कुरा सधैं मनमा राख्नु ।
उहाँको सधैं सकारात्मक सोच । कसैलाई कुनै कुराको भार नहोस् भन्ने सोचाइ । छोरीलाई काठमाडौं पढ्न पठाउँदा पनि छोराहरुलाई पनि आर्थिक भार नपरोस् भन्ने कुरामा सधैं सचेत ।
mangal-and-madhavबुबालाई आजको यो १०० बर्षको उमेरसम्म पनि चश्माको जरुरत छैन । सुन्ने क्षमताचाँहि अत्यन्त कमजोर । कहिलेकाहीँ मलाई लाग्छ, कान न सुन्नु नै राम्रो । कसैको नराम्रो शब्द सुन्नु पनि पर्दैन । सुन्दर संसार देखेर सबैलाई आशिर्वाद दिन पाइरहिन्छ ।
बुवाले २०४४/०४५ सालमा श्रवणशक्ति कमजोर भएका कारणले स्वेच्क्षिक राजीनामा दिनुभयो । तलबको जागिर छोडे पनि विद्यार्थीहरु नेपाली पढ्न बुबासँग घरसम्मै आउँथे । त्यही बरण्डा, त्यही खाट विद्यार्थी फरक, तर गुरु उही ।
रौतहट जिल्लाभरि नै शिक्षाको ज्योति फैलाउने शिक्षककी छोरी हुन पाउँदा गर्व महसुस हुन्छ सधैंभरि ।
बुवाको उत्तरार्ध जीवन काठमाडौंमै बित्यो । उस्तै पोशाक, उही अध्ययन र लेखनको दैनिकी ।
अल्पहारी, साकारात्मक सोच, स्वस्थ जीवन, फराकिलो बिचार । जिन्दगीमा असन्तुष्टिको झलक कहिल्यै देखिँन आजसम्म । सधैंभरि मीठो बोली । धेरै सोच बिचार गरेपछि मात्रा थोरै बोल्ने । चाहे जहाँबाट जो जस्तोसुकै मान्छे वहाँकहाँ आउन्, असल नैतिक शिक्षाको पाठ सिकाउने । सधैं आशिर्वाद मात्र वहाँको मुखारबिन्दबाट सुनिरहृयौं हामी सबैले ।
भेटेर ‘बुबा, कस्तो छ हजुरलाई ?’ भनेर सोध्यो भने सधैं प्रसन्न चित्तले भन्नुहुन्छ- नानी मलाई सबै राम्रो छ, भगवानको कृपाले कुनै रोग छैन, मेरा छोराछोरी बुहारी ज्वाइँ, नाति नातिना सबै आफ्नो ठाउँमा राम्रो पढेर अगाडि बढिरहेका छन्, मलाई त्यो कुराले मन बडा प्रशन्न हुन्छ, मनमा कुनै कुराको कमी महसुस छैन, वहाँले सधैं भन्ने यी वाक्यहरु हाम्रो जिन्दगीभरिका प्रेरणाका स्रोत हुन् ।
थाहा छैन, हामीले बुवाका कति गुणहरुलाई अनुशरण गरेका छौं कि छैनौं ।
‘रिटायर्ड बट नट टायर्ड’ भनेझै मैले कुनै दिन बुवाको शरीरमा अल्छिपना, नैरश्यता, असन्तुष्टि कहिल्यै देखिँन ।
आमाको भूमिका
बुबा यसरी आज उमेरले १०० वर्ष भइसक्दा पनि सधैंभरि प्रशन्न चित्त बनाइराख्न मेरी आमा दुर्गा नेपालको ठूलो भूमिका रहृयो जस्तो मलाई लाग्छ । सानै उमेरमा धेरै सन्तान । त्यसमा पनि सुरुका ४  छोराहरु सानैमा बर्सेनीको हुँदै अचानक बित्दै गर्दा आमा बुबालाई कति पीडा भयो होला, म कल्पना गर्न सक्छु ।
सबैतिरबाट बिजयी हुनु परोस् तर, छोराबाट चाँहि सधैं पराजय नै भएर रहनुपरोस्
तर, ती सबै दुःखलाई आँशुसँग पखाल्दै बुबालाई सधैं अगाडि बढ्न दिन आमाले सधैं साथ र सहयोग गरिरहनुभयो ।
त्यसपछिको सन्तानका रुपमा ठुल्दाजु माधवकुमार नेपाल र वहाँ पछिका हामी तीन भाइ, तीन बहिनी वहाँको सन्तानका रुपमा रहृयौं ।
कान्छी भएकै कारणले वहाँहरुका पूर्वार्द्धका दिन त मैले सुनेर मात्र थाहा पाएको । पछि जेठो छोरा, शायद वहाँहरुको आशा भरोशा माया ममता सबैले लुट्पुटिएको छोरा पढ्दा पढ्दै जब अचानक पढ्न छोडेर राजनीतिमा होमिनुभयो ।
भूमिगत हुँदा लुकीलुकी राति राति भारतको बोर्डरबाट लुक्दै पुलिसलाई झुक्याउदै अँध्यारोमा घर आउनुहुन्थ्यो  । अनि बुबाले सम्झाएको र आमा रोएको क्षण मेरा आँखा अगाडि अझै पनि श्रव्य दृश्यका रुपमा झल्किरहन्छ ।
चाहे जेठो छोरा माधवकुमार नेपाल जेल परेको खबर आउँदाको क्षण होस्, आमाबुवा रोएको साथमा म सँगसँगै  रोएको क्षण होस्, आहिले पनि सम्झेर भक्कानो फुट्छ ।
माहिला छोरा विनोदकुमार नेपाल इन्जिनियरिङ्ग पढ्न कोलोम्बो प्लानअन्तर्गत छात्रवृत्तिमा पढ्न जाँदा छोरा लाई टीका लगाएर खुशी मिश्रित  आँशुले बिदा गरेको सबै झलझल सम्झना आउँछ ।
बुबाआमाले कान्छा छोरा सरोज नेपालको पढाइको कुरामा होस् या छोरी कालिका, इन्दिरा, बसुधा कसैको पढाइमा पनि समय अनुसार कहिल्यै कमी महसुस हुन दिनुभएन । एउटा स्कुलको सामान्य शिक्षक, कति दुःख सुख गर्नु पर्थ्याे होला । तर, हामीलाई कहिल्यै कुनै कोणबाट पनि कमी हुन दिनुभएन ।
पूर्वार्ध त पूर्वार्ध भइगयो, उत्तरार्ध, रिटायर्ड एवं पेन्सन खाने जीवन पनि सधैंभरि वहाँले आफ्नो हातले सबैलाई शक्ति अनुसार दिएरै बस्नुभो । तर, कहिल्यै, कसैसँग कुनै आशा गरेको देखिँन ।
चाहे नाति नातिना पढ्न जान लाग्या हुन्, चाहे उनीहरुको बिहाबारी होस्, आफ्नै हातले चेक काटेर पैसा झिकेर आशिर्वादस्वरुप यो हजुरबुवाको आशिर्वाद हो भनेर दिने वहाँको बानी हामी सबैका लागि अनुकरणीय छ ।
दाजु प्रधानमन्त्री हुँदा बुबाको आँशु
आमाले त दुःख जति गर्नु भो, छोराछोरीको उन्नती प्रगति भएको देख्ने बेलामा हामी सबैलाई छोडेर जानुभयो । मैले बुबालाई पहिलोपटक जिन्दगीदेखी निराश भएको आमा बित्नुभएका सुरुका दिनहरुमा धेरै देखें ।
आमाले ६५ वर्षको दाम्पत्य जीवनमा बुबालाई एक्लै छोडेर गएपछि बुवा असाध्य दुखित हुनुभयो । कैले भन्नुहुन्थ्यो मनुश्य जीवनमा ४ आश्रम हुन्छन् । अब गृहस्थाश्रमपछि सन्यास लिन्छु । म त्योबेला धेरै रोएँ । बुबा, हामी सबै छोराछोरी हुँदाहुँदै हजुरले किन यस्तो भन्नु हुन्छ ? मलाई भन्नुहुन्थ्यो, रुन हुँदैन नानी, पहिला पहिला मान्छेहरु यस्तै गर्थे, नराम्रो मान्नुहुँदैन ।
तर, पछि सबै छोराबुहारी र छोरीहरुको मायाले बिस्तारै भुलिँदै गएर फेरि सामान्य जीवनतिर फर्केर पुनः अध्ययन  लेखनमै समय बिताउन थाल्नुभयो ।
तर, जति नै भुल्ने कोसिस गरे पनि जिन्दगीभरि साथ दिने आफ्नी पत्नीलाई कसरी भुल्न सक्छ र मानिसले ? चाहे त्यो जेठो छोरो प्रधानमन्त्री हुँदाको क्षण किन न होस् । छोरालाई गालामा सुम्सुम्याएर आशिर्वाद दिइरहँदा किन नहोस्, बुवाको आँखाको खुशी भित्र छचल्किएका आँशुमा आमाकै सम्झनाको छाप देखिन्थ्यो । आˆनो मनको कुरा असाध्य कम खोल्ने बुबाको बानी, तर, कहिले काँही नचाही नचाही पनि पोखिन्थ्यो । नानी, आमाले दाजु प्रधानमन्त्री भएको देख्न पाएकी भए कति खुशी भएर मिठाई बाँड्दै हिँड्थी होली भन्दै छेउबाट आँसु पुछ्नु भा’थ्यो उहाँले ।
जुनै  खुशीयाली घरमा आउँदा, चाहे त्यो माहिलो छोरा हङकङको माहाबाणिज्यदुत हुँदा होस्, या दाजुले चुनाव जित्दा, छोरीज्वाइँ वा नाति नातिनाको राम्रो प्रगति हुँदा पनि सधैंभरि बुबाचाँहि आमाकै सम्झनामा रहेको पाउँछु ।
दाजुले दुई ठाउँमा चुनाव हारेको क्षण
परिणाम सहर्ष स्वीकारेर पार्टीको महासचिब पदबाट राजीनामा गर्नुपर्छ भनेर बुबाले नै भन्नुभएको हो
एउटा घटना त मेरा लागि असाध्य सम्झनलायक छ । पहिलो संबिधानसभाको चुनावमा जब दाजु दुबै क्षेत्रबाट हारेको घोषणा गरियो । हामी पनि कोटेश्वरमै थियौं । म त एकदम उदास थिएँ ।  थुप्रै कुराले मनभित्र आगोको ज्वारभाटा थियो ।
बुबानिर गएँ । बुवाले मलाई भन्नुभयो नानी, दाजुले दुबै चुनाव क्षेत्रबाट हार्‍यो । दाजुलाई यतिखेर ठूलो चोट परेको छ । तर, परिणाम सहर्ष स्वीकारेर पार्टीको सबैभन्दा माथिल्लो तह महासचिब भएकाले कसैलाई दोष नदिएर सम्पूर्ण जिम्मेवारी आफैले लिँदै महासचिव पदबाट राजीनामा गर्नुपर्छ भनेर हामीले भन्नुपर्छ माधवलाई । एकचोटि हार्दैमा निराशचाँही हुनुहुँदैन भनेर हामीले सम्झाउनुपर्छ ।
बुबाले त्यसो भनेको सुनिरहँदा मेरा आँखाहरु आँशुले भरिएका थिए । तर, सँगसँगै सोचिरहेकी थिएँ, यस्तो नैतिकता र धैर्यताको पाठ सिकाउने कस्तो महान बुबा हामीले पाएका रहेछौं ।
जीवनको पूर्वार्धदेखि साहित्य लेखन कापीमा मात्र सीमित रहेका सिर्जनाहरु उतरार्धमा गएर प्रकाशित हुँदै गए । अहिलेसम्म १२ वटा कीर्ति प्रकाशित र बिमोचित भएका छन् बुबाका ।
मोफसलमा रहेका साहित्यकारहरुलाई राजधानीमा रहेका साहित्यिक प्रतिष्ठानहरुले खोजी नगरेका कारण मेरा बुवा सधैं पछाडि पारिइरहनु भयो । तर, जब खोजी खबर गर्न थालियो, बुवाका सिर्जनाहरु पुरस्कृत हुँदै गए । धेरैले चिन्न थाले । सम्मान गर्न थाले ढीलै भए पनि ।
छोराबाट पराजित भएकोमा खुशी
केही मान्छेहरुले वहाँलाई सोध्थे, हजुरलाई मंगलकुमार नेपाल भनेर रौतहट जिल्लाभरि चिन्थे, सम्मान गर्थे, अहिले हजुरलाई माधवकुमार नेपालको बुवा भनेर भन्दा कस्तो महसुस हुन्छ ?
mangar-and-madhav-1
सधैं संस्कृतमा वहाँको एउटै जवाफ हुन्थ्यो ‘सर्वतोजय मन्मिच्छेत् पुत्रादिच्छेत् पराजय’ वेदमै लेखेको छ । सबैतिरबाट बिजयी हुनु परोस् तर, छोराबाट चाँहि सधैं पराजय नै भएर रहनुपरोस् । अर्थात छोरा सधैं पिताभन्दा विजयी यशस्वी होस् भनेर पिताले कामना गर्नुपर्छ । यसमा मलाई गर्व हुन्छ, भनेर उहाँ मज्जासँग खुशी भएर हाँस्नुहुन्थ्यो ।
सधैं राम्ररी पढनुपर्छ । आफ्नो खुट्टामा उभिन सक्नुपर्छ । स्वाभिमानी हुनुपर्छ । सधैं आफ्नो बाहुबलले कमाउनुपर्छ । गलत बाटोबाट कमाउनु हुँदैन । लोभी हुनुहुँदैन । परिश्रमले आर्जन गरेको सम्पत्तिले मात्रै शान्ति मिल्छ । लगातार लगनशील र इमान्दार भएर काम गर्नुपर्छ भन्ने पाठ बुबाबाट सिकेकी छु मैले ।
आज २०७२ सालको पहिलो दिन सालको हिसाबले बुवा १०० बर्षमा प्रवेश गर्नुभयो । पूराशताब्दीमा मैले देखेको समयको यो मुस्कान देख्न पाउँ । वहाँको सकारात्मक सोचाइ, यो उमेर सम्म पनि आर्थिक रुपमा पनि कसैसँग पराश्रित हुनुनपरेको र आफ्नै हातले दिन पाइरहेका ती हातहरु जसले आजीवन यो मुलुकको कुनै कुनाबाट साहित्यमा अनवरत हात चलाइरहृयो, हामीले आदरस्वरुप शीर निहुर्‍याउँदा, सौभाग्यवती, चिरन्जिवी, यसश्वी, उन्नति प्रगतिको शुभआशिर्वाद छ बुवाको तर्फबाट भन्दै आउनुभएका यी आशिर्वादहरु हामी सबैलाई सधैं लागिरहुन् ।
मेरा बुवा, यदि कुनै अर्को जन्म हुन्छ भने म हजुरकी कान्छी छोरी भएरै जन्मिन पाउँ । मैले हजुरको गुण कतिको लिएर जन्मेकी छु, मलाई थाहा छैन । तर, मैले पनि मेरा सन्ततिलाई हजुरले गर्ने गरेको जस्तै समान व्यवहार र माया गर्न सकुँ । अनि यस्तै सकारात्मक शिक्षा दिन सकूँ । शताब्दी जन्मोत्सवको शुभकामना बुवा !
आमाभन्दा प्यारो यो संसारमा कुनै चिज छँदैछैन । 
बुबाभन्दा आदर्श पुरुष संसारमा कतै मिल्नै सक्दैन ।।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment