अनुस्काले गर्दा म मैदानमा शान्त र खुसी रहन्छुः विराट

मुम्बाई, वैशाख ३ – भारतीय क्रिकेटर विराट कोहलीले आफ्नो प्रेमिका तथा वलिवुड नायिका अनुस्का शर्माको समर्थनमा बोलेका छन् । आईसीसी विश्वकपबाट भारत बाहिरिएपछि अनुस्काको धेरै आलोचना भएकोमा विराटले अनुस्काको समर्थन गर्दै उक्त घटनाले आफ्नो प्रेमसम्बन्ध झन् प्रगाढ बनाएको बताएका हुन् । भारतीय न्युज च्यानललाई अन्तर्वार्ता दिँदै विराटले भने, ‘उक्त घटनाले अनुस्का र मेरो सम्बन्ध झन् मजबुत बनाएको छ । हामी दुवैले सँगै यस घटना सह्यौं ।’ कोहलीले आफ्नो प्रेमिकाको बारेमा कसैले नराम्रो भने आफूलाई रिस उठ्ने पनि बताएका छन् । अस्ट्रेलियाविरुद्धको सेमिफाइनल खेलमा भारतले बेहोरेको हारमा कोहलीले खराब प्रदर्शन गरेका थिए । यसको दोष धेरैले अनुस्कामाथि लगाएका थिए । विराट भने यसलाई मान्न तयार छैनन् । उनले अनुस्काले गर्दा नै विश्वकपअघि आफूले इंग्ल्याण्ड–अस्ट्रेलियासम्मिलित त्रिकोणत्मक श्रृंखलामा राम्रो प्रदर्शन गर्न सकेको बताएका छन् । ‘अनुस्काको कारणले म मैदानमा शान्त, एकाग्र र खुसी रहन्छु । उनले सँधै मलाई सकारात्मक प्रेरणा प्रदान गर्छिन् । तर मलाई आश्चर्य लाग्छ किन उनीमाथि पराजयको दोष थोपरियो । उनी र भारतको पराजयसँग कुनै मेल छैन । कसैको निजी मामिलामाथि यसरी हमला हुन्छ भन्ने मैले सोचेको पनि थिइँन,’ विराटले दुःख पोखे । ‘अन्य कुराका लागि क्रिकेटसँग कहिले सम्झौता गर्दिन,’ विराटले भने, ‘म भारतीय क्रिकेटको लागि ज्यान पनि तयार छु भन्ने कुरा मानिसहरुले बुझ्नुपर्छ । भारतलाई जीत दिलाउन म शत प्रतिशत प्रयास गर्छु ।’ उनले आफूले कहिलेकाहीँ आवेगमा आएर सीमा नाघेको घटनाहरु भएको स्वीकार गरेका छन् । ‘यदी कसैले मेरो प्रेमिकामाथि केही नराम्रो भन्छ भने मलाई रिस त उठिहाल्छ नी । यस्तो अवस्थामा म मात्र होइन कोही पनि चुप लगोर बस्दैन होला,’ उनले भने । विराटले बिसिसिआईसँग अनुमति मागेर अनुस्कालाई विश्वकपमा सँगै लगिएको बताए । ‘मैले शतक बनाउँदा उनले ताली बजाएको देख्दा म निकै खुसी थिएँ । उनको उपस्थितिले मलाई राम्रो खेल्न प्रेरणा दिन्छ,’ उनले भने । विराटका अनुसार अनुस्काले आफूलाई मात्र नभएर पूरा टिमलाई हौसला दिन्छिन् । ‘उनको सबैसँग राम्रो सम्बन्ध छ । त्यही भएर मेरो सफलता मात्र नभएर टिमको सफलतामा पनि उनी खुसी हुन्छिन्,’ उनले भने ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment